
काठमाडौं । माबिलुङ्ग इनर्जीले साउन २६ गतेदेखी सार्वजनिक सेयर निष्काशन (आईपीओ) आवेदन खुला गर्ने भएको छ । कम्पनिले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेर बाँकी रहेको सेयर सर्वसाधरणका लागि बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँबराबरको १३ लाख ५४ हजार २३५ कित्ता सेयर निष्काशन गर्नेछ ।
यसमध्ये ३० हजार ९५ कित्ता सेयर कर्मचारीहरुका लागि र ७५ हजार २३६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
साउन २६ गतेदेखी खुला हुने उक्त आईपीओमा २९ गतेसम्म आवेदन दिन सकिन्छ । यदि उक्त अवधिमा माग अनुसारको आवेदन पुरा नभएको खण्डमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइन्छ ।
कम्पनीले सञ्चालन गरेको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
यो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३१ वर्ष बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.०९ वर्ष रहेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।








प्रतिक्रिया