राठी र शारडा ग्रुपको पशुपति साइन्प्याक इन्डष्ट्रिजले ९ महिनामा गर्‍यो साढे १ अर्बको व्यापार

434
Shares

काठमाडौं । राठी र शारडा ग्रुपद्वारा सञ्चालित पशुपति साइन्प्याक इन्डष्ट्रिजले गत आर्थिक वर्षको ९ महिनामा करिब साढे १ अर्ब रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले गत आवको ९ महिनामा १ अर्ब ३८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२४ मा १ अर्ब ७० करोड ४० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब ५७ करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ५ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ३ करोड रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीकाअनुसार सन् २०२३ को तुलनामा सन् २०२४ र गत आवमा व्यापारमा रिकभरी हुँदै आएको छ । कम्पनीले गत आवमा ५.२ प्रतिशत नाफा कमाएको छ ।

सन् २००२ मा स्थापना भएको कम्पनीले पोलिप्रोपीलिन र हाइ डेन्सिटी पोलिथिन सेन्थिटिक ओभन एन्ड नन ओभन फ्याब्रिक र ब्याग उत्पादन गर्दै आएको छ ।

२०१९ देखि सन् २०२५ को ९ महिनाको अवधिसम्ममा ३२ देखि ६१ प्रतिशतसम्म भारतमा निर्यातको हिस्सा रहेको कम्पनीले जनाएको छ ।

१५ जनाको स्वामित्व रहेको कम्पनीको प्रबन्ध निर्देशक अनुपम राठी हुन् ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८६ करोड १२ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४६ करोड १२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ४० करोड रुपैयाँको रेटिङ गराएको छ ।