पुल मर्मतको लागि घोराही- लमही सडक खण्ड ४ दिन बन्द हुने

42
Shares

काठमाडौं । मसोट खोलाको पुल मर्मत सम्भारको क्रममा दाङको घोराही–लम्ही सडकखण्ड चार दिनसम्म बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आगामी साउन २१ गतेदेखि चार दिनसम्म उक्त सडक खण्डमा सवारी आवागमन बन्द हुने जानकारी गराएको छ ।

जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको सरोकारवालाहरुको बैठकले लमही–घोराही सडकखण्डमा यही साउन २१ गते बिहान ७ बजेदेखि साउन २४ गते बिहान ७ बजेसम्म दुई पांग्रे सवारी साधन बाहेक अरु सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

यो सडकको विकल्पको रुपमा लमही–अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडक प्रयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए । त्यसको व्यवस्था मिलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीलाई भनिएको छ ।

साथै मसोट खोला पुल नजिकको डाइभर्सन सडक डिभिजन कार्यालयले मर्मत गर्ने र ट्राफिक प्रहरीको नियमनमा अत्यावश्यक सवारी साधन सन्चालनको व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।