कोरियाको उदाहरण दिँदै पूर्वअर्थमन्त्री महतले स्पेनमा भनेः अब नेपाल फर्किऔं

343
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले लोकतन्त्र स्थापनापछि नेपाली समाजमा ठूलो परिवर्तन आएको उल्लेख गरेका छन् । उनले पहिले भाग्य मान्ने र चुप लाग्ने नेपाली, आज अधिकार खोज्न सिकेको भन्दै लोकतन्त्रले नागरिकमा आत्मविश्वास भरेको बताए ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको नवौं राष्ट्रिय महाधिवेशनमा बोल्दै महतले यस्तो बताएका हुन् । त्यस्तै नेपालको विकास ढिलो सुरु भएको ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गर्दै उनले भने, ‘७५ वर्षअघि नेपालमा बाटो थिएन, साक्षरता २ प्रतिशत भन्दा कम थियो। आज लगभग हरेक बच्चा स्कुल जान्छन् ।’ महतले ७५ वर्षअघि र अहिले नेपालमा धेरै परिवर्तन् आएको उल्लेख गरेका छन् ।

उनले नेपालको समृद्धिको यात्रालाई तीव्र बनाउन राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राख्न राजनीतिक दलहरुलाई आह्वान गरेका छन् ।

साथै नेपालबाट जनशक्ति पलायन हुनुको मूल कारण देशभित्र पर्याप्त अवसर नहुनु भएको उनको ठहर छ । उनले विदेश पलायनका सकारात्मक पक्ष – जस्तै शिक्षा, अनुभव, पुँजी – र चुनौती – देशभित्र म्यानपावर अभाव – दुवैलाई औंल्याउँदै भने, ‘विदेशी भूमिमा पुगेर नेपालीले कमाएको अनुभव र पुँजी अब देश विकासमा फर्काउनुपर्छ ।’

दक्षिण कोरियालीहरुको उदाहरण दिँदै उनले भने, ‘हामी पनि नेपाल फर्किनु पर्छ। हाम्रो मन नेपालमै छ, मौका मिल्यो भने धेरै नेपाली पुनः आफ्नै भूमिमा फर्कनेछन् ।’