
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकबाट नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन सिंह बस्नेतको खातामा १० लाख ८५ हजार रुपैयाँ आएको देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले गरेको अनुसन्धानको आधारमा बस्नेतसहित १०९ जनालाई प्रतिवादी बनाउँदै उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा अभियोगपत्र दायर भएको छ ।
बैंकको घोटालामा संलग्न व्यक्तिसँग बस्नेतको कारोबार देखिएको र बस्नेत नै बैंकको अनुगमन अधिकृत हुँद भल्टबाट रकम झिक्ने र नक्कली निक्षेप रसिद देखाएर बैंकमा हुँदै नभएको रकममा पनि ‘अवस्था ठिक छ’ भनेर प्रतिवेदन बनाएको भन्दै बस्नेत अनुसन्धानको दायरामा तानिएका थिए ।
बस्नेत समेत प्रतिवादी बनेर मुद्दा दर्ता भएपछि राष्ट्र बैंकको सुपरीवेक्षणमा समेत प्रश्न उठेको छ।
बस्नेतले भने कर्णाली डेभलपमेन्ट बैंकको घोटालामा आफ्नो कुनै संलग्नता नभएको भन्दै इन्कारी बयान दिएका छन् । उनले आफू बैंकको स्थलगत अनुगमन निरीक्षण टोलीको सदस्य नभई सुपरभाइज मात्रै भएको बयान दिएका हुन् ।
कर्णाली डेभलपमेन्ट बैंकबाट आफ्नो खातामा जम्मा भएको रकम बैंकको कर्मचारीलाई दिएको तालिम वापतको परिश्रमिक र श्रीमतीको नाममा रहेको गाडी बिक्री वापतको रकम भएको उनको बयान छ ।
कर्णाली डेभलपमेन्ट बैंकबाट विभिन्न मितिमा गरी बस्नेतको खातामा १० लाख ८५ हजार रुपैयाँ जम्मा भएको पाइएको थियो ।
सन् २०१९ को फेब्रुअरी १३ मा बस्नतेको खातमा जम्मा भएको १ लाख रुपैयाँ तालिम प्रदान गरे बापतको पारिश्रमिक भएको उनले दाबी गरेको छन् । त्यस्तै उनले बैंकका अध्यक्ष राजेन्द्रवीर रायसँग आफ्नो गाडी बिक्री गर्ने कुरा गरेको र उनले खरिद गर्ने भएपछि सन् २०१९ को फेब्रुअरी ८ मा ५० हजार रुपैयाँ श्रीमती कबिता केसीको नाममा रहेको बा ४ च ७८२६ नं. को सेन्ट्रो गाडी बिक्रीको भएको बयान दिएका छन् ।
उक्त गाडी ८ लाख २५ हजारमा खरिद बिक्री गर्ने कुरा भएको र सन् २०१९ फेब्रुअरी ७ मा ७ लाख ४९ हजार २५० र फेब्रुअरी ८ मा जम्मा भएको ५० हजार श्रीमतीको नामको गाडी बिक्री गरे बापतको रकम भएको उनले बताएका छन् ।
यस्तै बस्नेतको खातामा सन् २०२० सेप्टेम्बर २ मा कर्णाली डेभलपमेन्ट बैंकको खाताबाट जम्मा भएको ४२ हजार ५०० र ४२ हजार ५०० गरी ८५ हजार कर्णाली डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई प्रशिक्षण दिए बापतको पारिश्रमिक भएको उनको दाबी छ ।
सन् २०१९ फेब्रुअरी ३ मा बस्नेको खातामा जम्मा भएको १ लाख रुपैयाँ कुन प्रयोजनको लागि जम्मा गरिदिएका हुन् भन्ने जानकारी आफूलाई नभएको उनले बयान दिएका छन् ।
भौचरमा प्रयोजन नखुलाई जम्मा गरिएकोले आफूलाई जानकारी नभएको बस्नेतको बयान छ ।
यस्तो छ बस्नेको बयान
म नेपाल राष्ट्र बैंकमा २०४५/११/७ गतेबाट सहायक पदबाट काम गर्न सुरु गरी बढुवा हुँदै २०७५ साल जेष्ठमा कायम मुकायम निर्देशक भएको थिएँ । मैले २०७५/११/०८ गते कायम मुकायम निर्देशक पदबाट अनिवार्य अवकाश पाएको हुँ । मैले नेपाल राष्ट्र बैंकमा रहँदा विदेशी विनियम विभाग हुँदै अन्तमा वित्त कम्पनी सुपरीवेक्षण विभागमा रही काम गरेको थिएँ ।
कर्णाली डेभलपमेन्ट बैंकमा २०७५/०१/२७ गते देखि २०७५/०२/०२ गते सम्म स्थलगत अनुगमन निरीक्षणमा सहायक निर्देशक टेकराज भण्डारी टोली प्रमुख र सहायक निर्देशक राजन प्रसाद रेग्मी सदस्य भई खटिएका, म सो टोलीको सुपरभाईजर मात्र रहेको हुँदा म सो स्थलगत निरीक्षण खटिएर आएको थिइन ।
राष्ट्र बैंकमा नै रहेर रिपोर्ट लिएको थिएँ । निज टेकराज भण्डारी र राजन प्रसाद रेग्मी कर्णाली डेभलपमेन्ट बैंकमा स्थलगत रुपमा निरीक्षणको लागि खटिई आई अनुगमन निरीक्षण गरी मलाई रिपोर्टिङ गर्ने गरेका थिए । सो समयमा म नेपाल राष्ट्र बैक वित्तीय संस्था सुपरीवेक्षण विभागमा कार्यरत रहेको थिएँ।
विकास बैंकहरुमा अनुगमन निरीक्षणको लागि म कार्यरत रहेको वित्तीय संस्था सुपरिवेक्षण विभागबाट खटाउने गरिएको थियो । सो विभागको कार्यकारी निर्देशकले अनुगमन निरीक्षणको लागि खटाउने गरेका थिए ।
कर्णाली डेभलपमेन्ट बैंक नेपालगंज, बाँकेको मिति २०७५/०१/२७ गते देखी २०७५/०२/०२ गते सम्म स्थलगत अनुगमन निरीक्षण गर्नुको मुख्य उद्देश्य नेपाल राष्ट्र बैंकबाट बिगतमा मिति २०७३/१२/१ देखि २०७३ / १२ / १२ सम्म गरिएको समष्टिगत स्थलगत निरीक्षणबाट दिईएका निर्देशनहरुको कार्यान्वयनको अवस्था बारेमा अनुगमन गर्नु तथा उक्त अवधिको प्रमुख वित्तीय अवस्थाको समीक्षा गर्नु रहेकोमा मेरो टिमले उद्देश्य अनुसारको काम गरेको थियो ।
म फिल्डमा प्रत्यक्ष रुपमा नखटिएको हुँदा टोली प्रमुख र सदस्यबाट प्राप्त भएको प्रतिवेदनमा चुक्ता पुँजी पुगेको भनी उल्लेख गरेको हुँदा सोही अनुसार प्रतिवेदन तयार भएको हो । साथै हाम्रो निरीक्षणको उद्देश्य बिगतको निरीक्षणको प्रतिवेदनको कार्यान्वयनको पक्षको एकिन गर्नको लागी खटिएको हुँदा सो विषय बस्तुको बारेमा नहेरिएको हो । सो कुरा बिस्तृत निरीक्षण टोलीले हेर्नु पर्ने हो ।
लेखा परीक्षणको कुरा नेपाल राष्ट्र बैंकबाट हुने समष्टिगत स्थलगत निरीक्षण टोलीले हेर्ने गर्दछ । अनुगमनमा खटिने टोलीको कार्य दिन जम्मा ३ दिन मात्र रहेको हुँदा सबै कुरा नभ्याईने भएको हुँदा समष्टिगत स्थलगत निरीक्षण टोलीले हेर्ने गर्दछ । लेखा परीक्षण, कल खाताहरुमा रहेको नगद मौज्दातहरु जस्ता कुरा नेपाल राष्ट्र बैंकबाट हुने समष्टिगत स्थलगत निरीक्षण टोलीले हेर्ने गर्दछ । अनुगमनमा खटिने टोलीको कार्य दिन जम्मा ३ दिन मात्र रहेको हुँदा सबै कुरा नभ्याईने भएको हुँदा समष्टिगत स्थलगत निरीक्षण टोलीले हेर्ने गर्दछ ।
हामीले समयले भ्यायसम्म आकस्मिक रुपमा भल्टको निरीक्षण गर्ने गर्दछौं । म २०७५/११/०६ गते अवकाश हुनु भन्दा १ महिना अगाडी बिदा बसेको समयमा कर्णाली डेभलपमेन्ट बैंक लि.का कर्मचारीहरुलाई बिहान ८ बजे देखी साझ १६ः४० बजे सम्म २ दिनसम्म तालिम दिएको थिएँ । सो भौचरमा उल्लेखीत रकम मध्ये सन् २०१९/०२/१३ मा उल्लेखित रकम १ लाख रुपैयाँ तालिम प्रदान गरे बापतको पारिश्रमिक हो । सन् २०१९/०२/०८ मा मेरो खातामा आएको ५० हजारको सम्वन्धमा मेरो श्रीमती कबिता के.सी. को नाममा रहेको बा ४ च ७८२६ नं. को सेन्ट्रो गाडी मैले २०७५ सालको माघ महिनामा राजेन्द्र वीर रायसँग मेरो गाडी विक्री गर्ने कुरा गरेकोमा निज राजेन्द्र वीर रायले मेरो गाडी कर्णाली डेभलपमेन्ट बैंक लि. को नाममा ८ लाख २५ हजारमा खरिद बिक्री गर्ने कुरा गरी मेरि श्रीमतीको नामको बा ४ च ७८२६ नं. को सेन्ट्रो गाडी बिक्री बापतको ५० हजार मेरो खातामा जम्मा गरिएको हो ।
मेरो खातामा सन् २०२०/०९/०२ मा कर्णाली डेभलपमेन्ट बैंकको खाताबाट जम्मा भएो ४२ हजार ५०० र ४२ हजार ५०० गरी ८५ हजार मैले कर्णाली डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई प्रशिक्षण दिए बापतको पारिश्रमिक हो । सन् २०१९/०२/०७ मा मेरो खातामा जम्मा भएको ७ लाख ४९ हजार २५० मेरो श्रीमतीको नामको गाडी बिक्री गरे बापतको रकम जम्मा गरिदिएको हो । सन् २०१९/०२/०३ मा मेरो खातामा जम्मा भएको १ लाख रुपैयाँ कुन प्रयोजनको लागी जम्मा गरिदिएका हुन मलाई याद भएन । सो भौचरमा प्रयोजन नखुलाई जम्मा गरिएको हुँदा मलाई याद भएन।
मैले नेपाल राष्ट्र बैंकको निरीक्षण तथा सुपरिवेक्षण नियमावली २०७४ (दोस्रो संशोधन २०८०) तथा नेपाल राष्ट्र बैंक कर्मचारी विनियमवाली २०६८ (तेस्रो संशोधन २०७४) बिपरितको कार्य गरेको छैन । एकाउण्ट पेयी चेक मार्फत गर्नु पर्ने अनिवार्य थियो । एकाउण्ट पेयी चेक मार्फत कारोबार नगरी सिधै मेरो खातामा जम्मा गर्नु कर्णाली डेभलपमेन्ट बैंकको गलत हो । म अवकाश पश्चात कर्णाली डेभलपमेन्ट बैंकका कर्मचारीसँग अविच्छिन रुपमा सम्पर्कमा रहेको छैन । अवकाश पश्चात एक पटक र बहाल रहँदा एक पटक प्रशिक्षण दिएको हुँ ।








प्रतिक्रिया