नेप्से ५२.८७ अंकले घट्दै २९४९ बिन्दुमा खुम्चियो, किन घट्यो एकाएक?

2.6k
Shares

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.८७ अंकले घटेर २९४९.१९ बिन्दुमा खुम्चिएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से ३०.७६ अंकले बढेर ३००२.०७ बिन्दुमा पुगेको थियो । सोमबार नेप्से ७.१० अंकले बढेको थियो भने बुधबार १८.४४ अंकले घटेको थियो । त्यसभन्दा अगाडिका आठ कारोबार दिन नेप्से लगातार बढेको थियो ।

बुधबार कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा कुल १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार १८ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये २३ कम्पनीको सेयर मूल्य बढ्दा २२६ कम्पनीको सेयर मूल्य घटेको छ । आज सान्भी इनर्जी र ट्रेड टावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बुधबार बैंकिङ समुहको सेयर मूल्य १.६३ प्रतिशतले घट्दा विकास बैंक समूह ३.३४ प्रतिशतले, फाइनान्स समूह २.८७ प्रतिशतले, होटल तथा पर्यटन समूह २.२७ प्रतिशतले र जलविद्युत् समूह १.७९ प्रतिशतले घटेको छ ।

यस्तै, लगानी समूह १.६७ प्रतिशतले, जीवन बिमा समूह १.७७ प्रतिशत, उत्पादन समूह १.३२ प्रतिशत, लघुवित्त समूह ३.६४ प्रतिशत, निर्जीवन बिमा समूह १.७४ प्रतिशत र व्यापार समूह २.४५ प्रतिशतले घटेको छ ।

संस्थापक सेयरलाई सहज कारोबार दिनुपर्ने भन्दै लबिङ चलिरहेको बेलामा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बाफिया विधेयकमार्फत् उक्त व्यवस्था गर्न सकिने भन्दै छलफल गरिरहेका छन् । यसले पनि केही मात्रामा सेलिङ प्रेसर बढाएको देखिन्छ । यसका अलावा, लघुवित्त संस्थाहरुको लाभांश वितरणमा लगाइएको सीमा केन्द्रीय बैंकले तत्कालै नहटाउने विषय आएपछि पनि त्यसको प्रभाव बजारमा परेको छ ।