हेर्न नमिल्नेमा पर्‍यो निलम्बनविरुद्ध शरद ओझाले दायर गरेको रिट

273
Shares

काठमाडौं । निलम्बनविरूद्ध नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले दायर गरेको रिट आज हेर्न नमिल्नेमा परेको छ ।

बुधबार ओझाको रिट न्यायाधीशहरू सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा पेसी चढेको थियो । इजलासको ८ नम्बरमा रहेको रिट हेर्न नमिल्नेमा परेको सर्वोच्च प्रशासनले जनाएको छ।

यसअघि सोमबार न्यायाधीशद्वय अब्दुल अजिज मुशलमान र मनोजकुमार शर्माको संयुक्त इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको थियो ।

आफूविरुद्ध गठन गरिएको छानबिन समिति खारेज तथा निलम्बनमा फुकुवाको माग गर्दै ओझाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र छानबिन समितिलाई विपक्षी बनाई संयुक्त रूपमा दायर रिटमा छानबिन समितिका अध्यक्ष कृष्ण गिरी तथा सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई पनि विपक्षी बनाइएको छ।

रिटमाथि मागमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुशलमानले सरकारलगायत विपक्षीहरूलाई कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाएका थिए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाबारे छानबिन गर्न सरकारले असार ३० गते समिति बनाएको थियो ।

उनको आचरण, पदीय मर्यादा र कार्यक्षमताबारे छानबिन गर्न समिति बनाइएको हो । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः निलम्बनमा परेका थिए ।

फागुन १२ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । ओझा ११ प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष बनेका हुन् ।