चिनियाँ कच्चा पदार्थ रोक्न भारतको कडाइ, नेपालबाट स्टिलजन्य उत्पादनको निकासी बन्द


विराटनगर । स्टिल उद्योगका लागि आवश्यक कच्चा पदार्थमा पनि गुणस्तरको लोगो अनिवार्य गर्नुपर्ने भारतको पछिल्लो प्रावधानले स्टिलजन्य सामग्री उत्पादन गर्ने नेपाली उद्योगहरू प्रभावित भएका छन् । यस प्रावधानले नेपालबाट हुने स्टिलजन्य सामग्रीको निकासीसमेत प्रभावित पारेको सम्बन्धित उद्योगीहरूको गुनासो छ ।

अब मुलुकभरका स्टिल उद्योगहरूले भारतबाट कच्चा पदार्थ आयात गर्दा पनि ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) को प्रमाणपत्र लिनुपर्ने बाध्यता सिर्जना भएको छ । यसअघि भने केवल उत्पादित वस्तु निकासी गर्दा मात्र बीआईएस प्रमाणपत्र आवश्यक पर्थ्यो ।

‘अब भारतले गुणस्तर प्रमाणित गरेको कच्चा पदार्थ आयात गरेर स्टिलका भाँडाकुँडा निर्माण गरी भारतमै निकासी गर्नुपर्ने अवस्था भएको छ,’ प्रिमियर स्टिल उद्योगका सञ्चालक पवनकुमार सारडाले भने । भारतले झन्डै दुई महिना अघि उक्त प्रावधान लागू गरेको उनले बताए ।

नेपाली स्टिल उद्योगहरूले प्रायः चीनबाट कच्चा पदार्थ ल्याएर तयार वस्तु भारत निकासी गर्दै आएका थिए । तर त्यसलाई रोक्न भारतले यस्तो प्रावधान ल्याएको हुन सक्ने उनको आकलन छ। ‘भारतले चिनियाँ कच्चा पदार्थबाट उत्पादित वस्तु भारत निकासीमा अवरोध गर्न यो प्रावधान ल्याएको हुन सक्छ,’ उनले भने ।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा स्टिलका भाँडाकुँडा उत्पादन गर्ने उद्योग नगण्य छन्। यस्ता उद्योगहरू मुख्यतः भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा केन्द्रित छन् । सारडाका अनुसार भारतको नयाँ प्रावधानले ती उद्योगहरू बढी प्रभावित भएका छन् ।

आरटी स्ट्रिप्सले स्टिल पाइप उत्पादन गरी भारत निकासी गर्दै आएको थियो । नयाँ प्रावधानपछि पाइप निकासीसमेत प्रभावित भएको छ।

भैरहवाको विशेष आर्थिक क्षेत्रमा सञ्चालित भिस्तार ग्लोबल प्रालि र पञ्चकन्या स्टेनलेस उद्योग भारतमा आफ्नो उत्पादन निकासी गर्दै आएका थिए । ती उद्योगहरूले उद्योग विभागबाट उत्पादन प्रमाणपत्र लिएर आवश्यक मूल्यवर्द्धन (भ्यालु एडिसन) गरेर तयारी वस्तु निर्यात गर्दै आएका थिए ।

अब नेपाली उद्योगहरूले भारतमै प्रमाणित कच्चा पदार्थ आयात गरी उत्पादित वस्तु मात्र भारत निकासी गर्नुपर्ने अवस्था आएको छ । पञ्चकन्या समूहका प्रबन्ध निर्देशक देवेन्द्र साहु भन्छन्, ‘भारतले लागू गरेको यो प्रावधानले चीनबाट कच्चा पदार्थ आयात गरी तयार गरिएका सामान भारत निकासी गर्न नदिने बनाएको छ ।’

यो नेपाल भारतको सन्धिको मर्मविपरीत रहेको उनको भनाइ छ ।

‘यो सरासर नेपाल–भारत व्यापार सन्धिको मर्मविपरीत छ। हामी चीनबाट कच्चा पदार्थ ल्याएर स्टिलको ट्याङ्की उत्पादन गरी भारत पठाउँदै आएका थियौं। तर अहिले एक महिनादेखि निकासी रोकिएको छ,’ उनले भने ।

भिस्तार ग्लोबल प्रालिले स्टिलका घरेलु सामग्री भारत निकासी गर्दै आएको थियो । कच्चा पदार्थमा गुणस्तर प्रमाणको लोगो अनिवार्य गर्ने भारतीय प्रावधानपछि उत्पादनको निकासी डेढ महिनादेखि रोकिएको स्टोर म्यानेजर लक्ष्मण गुप्ताले जानकारी दिए।

उनका अनुसार उद्योगले मासिक ४ सय टन भाँडाकुँडा उत्पादन गर्दै झन्डै ८० प्रतिशत सामग्री भारत निकासी गर्दै आएको थियो । ‘भारतको पछिल्लो नियमले निकासी प्रभावित भएपछि अहिले उद्योग स्वदेशी बजारमा निर्भर भएको छ,’ गुप्ताले भने। अहिले उद्योगको उत्पादन मासिक २५–३० टनमा झरेको उनको भनाइ छ ।

त्यस्तै शिव स्टिल उद्योग, वीरगञ्जको उत्पादन र निकासीसमेत प्रभावित भएको छ।

भैरहवा भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार दुई महिनादेखि भैरहवा नाकाबाट स्टिलका भाँडाकुँडा निकासी ठप्प छ । उनका अनुसार गत आर्थिक वर्ष उक्त नाकाबाट झन्डै ७३ करोड ६२ लाख ५८ हजार रुपैयाँ बराबरका स्टिल भाँडाकुँडा भारत निकासी भएको थियो । तर अहिले निकासी ठप्प रहेको उनको भनाइ छ ।

‘भारतीय पक्षको नयाँ प्रावधानका कारण चालु वर्षमा स्टिलका भाँडाकुँडा निकासी ठप्प छ,’ रेग्मीले भने ।