
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुचकमा देखिएको कमजोरी करिब तीन घण्टापछि सुधार गरेको छ ।
सोमबार सेयर बजारको परिसूचकमा अन्तिम गणना त्रुटि भएको थियो । यसपछि सामाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट प्रश्न उठाइएपछि नेप्सेले उक्त कमजोरी सुधार गरेको हो ।
बजार बन्द हुँदा नेप्से परिसूचक १२ अंक बढेको थियो । त्यसपछि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना भएपछि नेप्से एकाएक २ अंकले गिरावट भएको स्थितिमा पुगेको थियो ।
सोमबार २ः४५ बजे ३ अंक बढेर २९६७ बिन्दुमा रहेको नेप्से त्यसपछि बजार बन्द हुँदासम्म लगातार बढेको थियो । तर, भारित औसत मूल्य गणनापछि २.०७ अंकले घटेको देखाएपछि यसको आलोचना भएको थियो ।
हाल सच्याएपछि भने नेप्से ७.१० अंकले बढेर २९७१.३१ बिन्दुमा रहेको देखाइएको छ । सोमबार नेप्से २ः४५ बजे २९६७.०८ बिन्दुमा, २.५० बजे २९६९.६५ बिन्दुमा, २.५५ बजे २९७२.२७ बिन्दुमा र ३ बजे २९७६.३४ थियो ।
यसका सन्दर्भमा नेप्सेले सूचना नै निकालेर भनेको छ, ‘नेप्सेको कारोबार प्रणालीमा कारोबार समय पश्चात परिसूचकको भारित औषत गणना गर्ने क्रममा प्राविधिक कारणले फरक अंक देखिएकोमा उक्त समस्या समाधान गरिएको व्यहोरा अनुरोध गर्दछौं । यसबाट सम्पूर्ण सरोकारवालामा पर्न गएको असुविधाको लागि क्षमा प्रार्थी छौं ।’









प्रतिक्रिया