दंगाफसादीले वितरण केन्द्र प्रमुखलाई दबाब दिएर लोडसेडिङ तालिका निकाल्न लगाएः हितेन्द्र

4.2k
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको चितवनमा ११ साउनको लागि ६ घण्टा विद्युत कटौती हुने सूचना प्रकाशित गरेपपिछ चितवनबाट लोडसेडिङ सुरु भएको चर्चा चलिरहेको छ । प्राधिकरणको चनौली वितरण केन्द्रले एक सूचना प्रकशित गर्दै चितवनका ३ वटा फिडरमा ६ घण्टा विद्युत कटौती हुने उल्लेख गरेको थियो ।

तर, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भने यो लोडसेडिङ नभएको बताए । ‘मर्मत सम्भार गर्नुपर्ने नियमित कामको लागि लाइन काट्नु परेकामा वितरण केन्द्र प्रमुखलाई अनावश्यक दबाब दिइयो, तालिकासहित सूचना निकाल्न दवाब दिएर त्यसको प्रचार गरियो,’ शाक्यले क्लिकमान्डुसँग भने । सबस्टेसनमा मर्मत सम्भारको लागि २ दिनको लागि लोड काट्नुपरेको उनले बताए ।

‘काठमाडौंमा पनि शनिबार विद्युत तार अन्डरग्राउण्डको लागि लाइन काट्ने सूचना प्रकाशित गर्दै विद्युत आपूर्ति बन्द हुने गरेको, चितवनमा पनि यस्तै काम हो । तर, तालीका नै निकाल्न लगाएर लोडसेडिङ भनिएछ ।’ चितवनमा दङ्गा गर्न चाहनेहरुले वितरण केन्द्र प्रमुखलाई दबाब दिएर यस्तो गरिएको उनले आरोप लगाए ।

केही दिन यता सिंचाइका लागि अत्यधिक विद्दुत माग हुँदा त्यहाँ जडित पुराना प्रसारण लाइन र संरचनाले नधान्ने अवस्था उत्पन्न भएको छ । त्यसको समाधानका लागि अर्को सबस्टेसनबाट समेत विद्दुत आपूर्ति गर्नुपर्ने भएकोले प्रसारण लाइन र ट्रान्सफरको मर्मत एवं कतिपय स्थानमा अदली बदली नै गर्नु पर्ने भएकोले अल्पकालीन समयका लागि विद्दुत कटौती गर्नु परेको प्राधिकरणका प्रबन्ध निर्देशक शाक्यले बताए ।

प्राधिकरणको चनौलि वितरण केन्द्रले निकालेको सूचनामा भनिएको छ, ‘यस वितरण केन्द्र मार्फत वितरित विद्युत लाइन भरतपुर १३२/३३ केभी सब स्टेसनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएर भन्दा बढी विद्युत प्रवाह गर्न नमिल्ने (क्षमताले नधान्ने) अवस्था रहेको छ । यसको समाधानको लागि अघिल्लो आवमा नै बसेनी सब स्टेसनबाट विद्युत आपूर्ति गर्ने गरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको छ ।’

तर, अत्याधिक गर्मी र रोपाइँको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकहरुको लोड बढ्न गई विद्युतको माग ४५० एम्पिएर सम्म पुगेकोले ३ वटा फिडरमा फकर फरक समयमा ६ घण्टा विद्युत कटौति गर्नुपर्नेको सूचनामा उल्लेख छ । विद्युतको माग बढी केही दिनदेखि लोड व्यवस्थापनमा समस्या आइरहेको हुँदा ११ साउनमा विद्युत् आपूर्ति अवरुद्ध हुने सूचनामा उल्लेख छ ।

सूचना अनुसार नारायणी–माडी फिडरहरु बिहान ६ देखि ९ र दिउँसो ३ देखि ६ बजेसम्म विद्युत आपुर्ति बन्द हुनेछ । यस्तै मेघौली–विजयनगर–शुक्रनगर फिडरहरुमा बिहान ९ देखि १२ बजेसम्म र बेलुका ६ देखि ९ बजेसम्म विद्युत आपुर्ति बन्न हुनेछ । जगतपुर–रामपुर फिडरहमा दिउँसो १२ देखि ३ बजेसम्म र बेलुका ९ देखि १२ बजेसम्म विद्युत आपुर्ति बन्द हुने सूचनामा उल्लेख छ ।

यसविषयमा प्राधिकरणले प्रेस विज्ञप्ति पनि जारी गरेको छ । प्रस्तुत छ, सो विज्ञप्ति जस्ताको तस्तैः

प्रेस विज्ञप्ति

लोडसेडिङ नभएको सम्बन्धमा
चितवन जिल्लामा रहेका तीन वटा फिडरमा प्राविधिक समस्याका कारणले गर्नु परेको विद्दुत कटौतीलाई केही सन्चार माध्यमबाट “लोडसेडिङको तालिका” भन्दै सम्प्रेषण गरिएको समाचार प्रती नेपाल विद्दुत प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ।
जिल्लाका नारायणी- माडी , मेघौली- विजयनगर – शुक्रनगर र जगतपुर – रामपुर फिडरहरुमा केही दिन यता सिंचाइका अत्यधिक विद्दुत माग हुँदा त्यहाँ जडित पुराना प्रसारण लाइन र संरचनाले नधान्ने अवस्था उत्पन्न भएको अवस्था हो । त्यसको समाधानका लागि अर्को सबस्टेसनबाट समेत विद्दुत आपूर्ति गर्नु पर्ने भएकोले सो का लागि प्रसारण लाईन र ट्रान्सफरहरुको मर्मत एवं कतिपय स्थानमा अदली बदली नै गर्नु पर्ने भएकोले अल्पकालीन समयका लागि विद्दुत कटौती गर्नु परेको हो । यस बारे पुर्व जानकारी दिन चनौली विद्दुत केन्द्रद्वारा प्रकाशित सुचनालाई अतिरन्जित तवरले “लोडसेडिङको तालिका” शीर्षक दिएर समाचार प्रकाशीत गर्नु अनुचित र भ्रामक रहेको ब्य्होरा स्पष्ट पार्न चाहान्छौ ।
प्रकाशित समाचारहरुका भित्रि ब्यहोरामा नै प्राधिकरणकै जिम्मेवार पधादिकारीद्वारा यस अवस्थालाई “लोडसेडिङ भन्न नमिल्ने” र “बुधबार सम्ममा समस्या समाधान भइ सक्ने” कुरा उल्लेख भएको बिपरित शीर्षकमा लोडसेडिङ उल्लेखहुनु कुनैपनि हिसाबले न्यायोचित नभएको पनि सम्पूर्ण संचार जगतसमक्ष निवेदन गर्दछौं । साथै उल्लेखित फिडरहरूमा उत्पन्न समस्या समाधान गर्न प्राधिकरणको टिम अहोरात्र खटिएको जानकारी पनि यसै विग्यप्ती मार्फत गराउन चाहन्छौं ।