सामाजिक सञ्जालमार्फत् सेयर खरिद–बिक्रीमा उक्साउने कार्य नगर्न धितोपत्र बोर्डको आग्रह

119
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत सेयर खरिद वा बिक्री गर्न लगानीकर्तालाई उक्साउने गतिविधि नगर्न आग्रह गरेको छ ।

बोर्डले एक सूचना जारी गर्दै विभिन्न सञ्चारमाध्यम, फेसबुक, युट्युब, क्लबहाउस लगायत सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचिकृत कम्पनीहरूको सेयर मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित धितोपत्र खरिद वा बिक्री गर्न (वा नगर्न) उक्साउने उद्देश्यले अनधिकृत अभिव्यक्तिहरू सार्वजनिक गरिएको गुनासो तथा उजुरीहरू प्राप्त भएको जनाएको छ ।

बोर्डका अनुसार, धितोपत्र ऐन, २०६३ अनुसार कसैले पनि आफैँ वा अरूको सहयोगमा बजारलाई प्रभावित पार्ने गरी सेयर खरिद–बिक्री गर्न वा नगर्न प्रेरित गर्नु गैरकानुनी हो । यस किसिमको कार्यलाई धितोपत्र कारोबारसम्बन्धी कसूर मानिने प्रावधान रहेको बोर्डले स्पष्ट पारेको छ ।

बोर्डले विशेषगरी सामाजिक सञ्जाल वा कुनै माध्यमबाट भ्रामक टीका–टिप्पणी र सूचनाको सम्प्रेषण गरी बजारको स्वतन्त्रता र पारदर्शितामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने क्रियाकलाप नगर्न र नगराउन आग्रह गरेको छ ।

‘यस्ता गतिविधि तत्काल रोक्न सूचित गरिन्छ । यदि कसैले बेवास्ता गर्दै यस्ता कार्यहरू गरेको पाइएमा सम्बन्धित व्यक्तिविरूद्ध धितोपत्र ऐनअनुसार आवश्यक कानुनी कारबाही गरिनेछ,’ सूचनामा उल्लेख छ ।

बोर्डले विगतमा पनि यस्ता गतिविधि भए नभएको विषयमा सूक्ष्म निगरानी गर्दै आएको र यस्ता कार्यले बजारमा अनावश्यक प्रभाव पार्ने देखिएमा कारबाही प्रक्रिया अघि बढाउने बताएको छ ।