
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) तथा धितोपत्र व्यापारी (स्टक डिलर)को कुल संख्याको कम्तिमा १५ प्रतिशतले स्थलगत अनुगमन गर्ने बताएको छ । बोर्डले मंगलबार चालु आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।
‘धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको कुल संख्याको कम्तिमा १५ प्रतिशतले स्थलगत अनुगमन कार्य गरिनेछ,’ बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ, ‘धितोपत्र व्यवसायी(मर्चेन्ट बैंकर) र क्रेडिट रेटिंग कम्पनीहरूको कुल संख्याको कम्तिमा १५ प्रतिशतको स्थलगत अनुगमन कार्य हुनेछ ।’
बोर्डमा दर्ता सामूहिक लगानी कोष व्यवस्थापक तथा विशिष्टीकृत लगानी कोष व्यवस्थापकहरूको कुल संख्याको कम्तिमा १५ प्रतिशतको स्थलगत सुपरिवेक्षण गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ अनुसार कम्तीमा १५ सूचक संस्थाको स्थलगत सुपरिवेक्षण गर्ने पनि बोर्डले नीति तथा कार्यक्रममा राखेका छ ।
‘नेपाल चार्टर्ड एकाउन्टेट्स संस्थाको परामर्शमा धितोपत्र दलाल व्यवसायी, मर्चेण्ट बैंकर व्यवसायी, सूचीकृत कम्पनी लगायतका बजार सहभागी संस्थाहरूका लागि विकास गरिएको प्रतिवेदन प्रारूप लागू गरी कार्यान्वयनमा ल्याइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘सूचीकृत संगठित संस्थाको सुपरिवेक्षणका लागि सुपरिवेक्षण मार्गदर्शन तयार गरिनेछ ।’
बोर्डले सूचीकृत संगठित संस्थाका परिपालना अधिकृतहरुलाई संस्थाले प्रवाह गर्नुपर्ने सूचना, विवरण तथा जानकारीका सम्बन्धमा तालिम प्रदान गर्ने, धितोपत्र व्यवसायीको काम कारवाहीको सन्दर्भमा बोर्डबाट हुने सुपरिवेक्षण व्यवस्था पुनरावलोकन गर्न अध्ययन गर्ने पनि घोषणा गरेको छ ।








प्रतिक्रिया