
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले संस्थागत सुदृढीकरणका लागि ‘ओएन्डएम’ गर्ने भएको छ । बोर्डले मंगलबार चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै संस्थागत सुदृढीकरणका लागि ‘ओएन्डएम’ गर्ने जनाएको छ ।
‘नेपाल धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण गर्न ओएन्डएम गर्नुका साथै बोर्डको कार्यालयको लागि घरजग्गा प्राप्ति प्रक्रिया अगाडि बढाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘बोर्डबाट प्रदान गरिने सेवाहरू इलेक्ट्रोनिक वा अनलाइन माध्यमबाट छिटो छरितो रूपमा दिन सक्ने गरी सिस्टम अटोमेसन गर्दै बोर्डमा इन्टरप्राइजेज रिसोर्स प्लानिङ (ईआरपी) लागू गरिनेछ ।’
बोर्डले संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्ने तथा नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङको पुनर्संरचना गर्न सहजीकरण गर्ने पनि उल्लेख गरेको छ ।
पुँजी बजार विकास तथा सुधार सम्बन्धी विषयमा बोर्ड, नेपाल सरकार, अर्थ मन्त्रालय एवं वित्तीय क्षेत्रका अन्य नियामक निकायहरूबीचको कार्यगत समन्वय तथा सहकार्यको संयन्त्र विकास गर्ने र आवश्यकता अनुरूप छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने पनि बोर्डले जनाएको छ ।
बोर्डको कामकारवाही र बजारको विकास तथा सुधार कार्यलाई योजनावद्ध तथा प्रभावकारी बनाउन बोर्डको चार वर्षीय रणनीतिक योजना तर्जूमा गरी कार्यान्वयनमा ल्याउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
बोर्डको प्रादेशिक कार्यालय स्थापना सम्बन्धमा संभाव्यता अध्ययन गर्ने र बोर्डको आन्तरिक सुशासन तथा जोखिम व्यवस्थापन सम्बन्धमा अध्ययन गरी, बोर्डको आन्तरिक कार्य संचालन निर्देशिका तर्जुमा गर्ने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।








प्रतिक्रिया