नागरिक दैनिक प्रकाशन गर्ने रिपब्लिकाको व्यापार निरन्तर घट्दो, ९ महिनामा साढे १३ करोडको कारोबार

217
Shares

काठमाडौं । नागरिक दैनिक र रिपब्लिका डेली प्रकाशन गर्ने नेपाल रिपब्लिक मिडियाको व्यापार घट्दो क्रममा रहेको पाइएको छ । कम्पनीको व्यापार पछिल्ला तीन वर्षमा निरन्तर घट्दो अवस्था रहेको पाइएको हो ।

सन् २०२१ मा १७ करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२२ मा २० करोड ३० लाख, सन् २०२३ मा २२ करोड ३० लाख रुपैयाँ र सन् २०२४ मा १८ करोड रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै गत आवको ९ महिनामा कम्पनीले साढे १३ करोड रुपैयाँको व्यापार गरेको छ ।

सन् २०२४ मा सन् २०२३ को तुलनामा व्यापार २७ प्रतिशतले घटेको कम्पनीले जनाएको छ । सन् २०२४ मा विज्ञापनको लागि उच्च प्रतिस्पर्धा हुँदा व्यापारमा कमी आएको कम्पनीले जनाएको छ । तर, व्यापारमा कमी आए पनि नाफा भने बढेको पाइएको छ । सन् २०२३ मा १८ प्रतिशत नाफा कमाएको कम्पनीले सन् २०२४ मा २७ प्रतिशतले नाफा कमाएको थियो ।

त्यसैगरी गत आवमा भने व्यापार र नाफा दुबैमा कमी आएको कम्पनीको भनाइ छ । गत आवको ९ महिनाको अवधिमा भने व्यापारसँगै नाफामा पनि कमी आएको छ ।

गत आवको ९ महिनाको अवधिमा कम्पनीले १९ प्रतिशत मात्रै नाफा कमाएको छ । गत आवमा उपत्यकामा आएको प्राकृतिक प्रकोप बाढीका कारण व्यापारमा प्रभाव परेको र अस्थायी रुपमा फ्याक्ट्री सारेकाले उत्पादन मूल्य बढेको कम्पनीले जनाएको छ।

कम्पनीकाअनुसार स्टक क्षतिको बीमाबाट प्राप्त रकमले गैरसञ्चालन आम्दानी वृद्धि भएकाले खुद नाफा बढेको जनाएको छ । कम्पनीले गत आवमा ३ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा १ प्रतिशत र सन् २०२३ मा ०.४१ प्रतिशत खुद नाफा कमाएको थियो ।

सन् २००८ मा स्थापना भएको आईपीओ जारी गर्ने तयारीसहित सन् २०२१ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो । विनोदराज ज्ञवालीको ५४ प्रतिशत स्वामित्व रहेको कम्पनीको देशभर सेवा दिँदै आएको छ । कम्पनीले ५५ वटा जिल्लामा आफ्नो सेवा दिँदै आएको जनाएको छ । कम्पनीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम न्यूयोर्क टाइम्ससँग प्रिन्टिङ र वितरण कार्यका लागि सहकार्य गरेको छ ।

कम्पनीले आफ्नो सामाचार दुई वटा वेवसाइटमार्फत् सुविधा दिँदै आएको छ । कम्पनीले विभिन्न क्षेत्रको सामाचार प्रवाह गर्दै आएको छ ।