
काठमाडौं । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । प्रहरीले अग्रवाललाई काठमाडौंको टोखाबाट सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ठगी र अपराधिक विश्वासघातको आरोपमा अग्रवाललाई पक्राउ गरिएको हो । काठमाडौं प्रहरी परिसरका प्रमुख विश्व अधिकारीले क्लिकमान्डुलाई जानकारी गराएअनुसार उनीमाथि केही दिनअघि नै अदालबाट पक्राउपूर्जी जारी भएको थियो ।
अदालतको पक्राउपूर्जी जारी पश्चात् उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । ‘अग्रवालमाथि ठगी र अपराधिक विश्वासघात गरेको उजुरी परेकाे थियो, केही दिनअघि अदालतबाट पक्राउ पुर्जी पनि जारी भएको थियो,’ काठमाडौं प्रहरी परिसरका प्रमुख विश्व अधिकारीले भने- ‘आज हामीले नियन्त्रणमा लिएका छौं ।’
खासगरी, अग्रवालमाथि सेयर खरिदबिक्रीमा मानिसलाई ‘मिस लिड’ गर्ने गरेको आरोप लामो समयदेखि लाग्दै आएको छ । विभिन्न सामाजिक सञ्जाल तथा प्लेटफर्ममा समेत उनले सेयर खरिद गर्न लगाएर फसाएको भन्दै विरोध हुँदै आएको थियो ।
मानिसलाई सेयर खरिद गर्न लगाउने र फसाउने काम गरेको भन्दै पछिल्लो समय अग्रवाल विवादमा तानिएका थिए ।
नेपाल फाइनान्स जस्ता कम्पनीको सेयर खरिद गर्न लगाएर तीब्र गतिमा मूल्य उतारचढाव गराउने तथा साधारण लगानीकर्तालाई फसाउने काम गरेको आरोप उनीमाथि लाग्दै आएका छन् ।
सामाजिक सञ्जालहरुमा सक्रिय अग्रवाल क्लबहाउस लगायत सामाजिक सञ्जालमा बजारका विषयमा विभिन्न किसिमका छलफल तथा कुराकानी गर्ने गर्दछन् ।
अग्रवालमाथि लगानीकर्ताको गुनासो र उजुरी बढ्दै गएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समेत निगरानीमा राखेको थियो ।








प्रतिक्रिया