दाल र गेडागुडी बेच्ने केडिया ग्रुपको महावीर ओभरसिजको व्यापार ११ प्रतिशतले घट्यो

189
Shares

काठमाडौं । केडिया ग्रुपद्वारा सञ्चालित महावीर ओभरसिज प्रालिको व्यापार ११ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा ११ प्रतिशतले व्यापार घटेको हो ।

सन् २०२३ मा २ अर्ब १८ करोड ३० लाखको व्यापार गरेको कम्पनीले गत आर्थिक वर्ष भने १ अर्ब ९५ करोड १० लाख रुपैयाँको मात्रै कारोबार गरेको छ ।

सन् २०२२ मा २ अर्ब ५० करोड १० लाखको व्यापार गरेको कम्पनीको उक्त वर्षको तुलनामा सन् २०२३ मा १३ प्रतिशतले व्यापार घटेको थियो । सन् २०२१ मा २ अर्ब ३३ करोड ८० लाख र सन् २०२० मा १ अर्ब ७३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१२ मा स्थापना भएको कम्पनीले दाल आयात गरी वार्षिक १८ हजार २ सय ५० मेट्रिक टन प्रशोधन गर्ने क्षमता छ । कम्पनीले विभिन्न देशबाट दाल तथा गेडागुडी आयात गरेर यशोदा र उत्तम ब्राण्डमा बिक्री गर्दै आएको छ । कम्पनीको देशभर डिलर तथा खुद्रा पसल छन् ।

मुक्तिकुमार अग्रवाल र अंकित केडियाको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि एक अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३२ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६८ करोड रुपैयाँको रेटिङ गराएको छ ।