नेपालको वैदेशिक व्यापारः वर्तमान संरचना, जोखिम र गन्तव्य

749
Shares

निरन्तरको अनपेक्षित न्युन आर्थिक वृद्धि, संरचनागत समस्या, कुल गार्हस्थ्य उत्पादनमा द्वितीय क्षेत्रको घट्दो योगदान र सेवा क्षेत्रको बढ्दो योगदान, अर्थतन्त्रको उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धी क्षमतामा कमी, बढ्दो उत्पादन लागत, औद्योगिक क्षेत्रको संकुचन, उत्पादनमुखी उद्योगमा घटदो आकर्षण तथा व्यापारमुखी उद्योगतर्फ बढ्दो आकर्षण, उपभोगमुखी आयात, न्यून निर्यात क्षमता र निरन्तरको व्यापारघाटा नेपालको प्रमुख आर्थिक समस्याहरुको रुपमा रहेको छ ।

एकातर्फ औद्योगिक क्षेत्रको विकास नभईकन सेवा क्षेत्रको विकासतर्फ उन्मुख हुँदा अर्थतन्त्रमा संरचनागत समस्या ल्याएको छ भने अर्कोतर्फ आधारभुत आवश्यक्ता समेत आयातमा निर्भर हुँदै गएको छ । आन्तरिक अर्थतन्त्र सवलिकरण गर्न नस्कदा न त आयात घटाउन सकिएको छ न त निर्यात नै प्रबर्द्धन गर्न सकिएको छ । यस सन्दर्भमा यो लेखले नेपालको वैदेशिक व्यपारको संरचना, समस्याहरु तथा अबको गन्तव्य केलाउने प्रयास गरिएको छ ।

वैदेशिक व्यापारको वर्तमान संरचना
आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कको आधारमा नेपालले कुल १७० देशसँग व्यापार रहेको देखिन्छ र कुल व्यापार कुल गार्हस्थ्य उत्पादनको ३२ प्रतिशत रहेको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तथ्याङ्ककको आधारमा कुल वैदेशिक व्यापार १५ खर्ब ९२ अर्ब ९७ करोड रूपैयाँ पुगेको देखिन्छ । वैदेशिक व्यापारको संरचना अध्ययन गर्दा आयात संरचना, निर्यात संरचना, व्यापार सन्तुलन संरचना र भुक्तानी सन्तुलन तथा विदेशी मुद्रा सञ्तितिको संरचनाको विश्लेषण गर्नुपर्ने हुन्छ ।

निर्यात संरचना
आर्थिक वर्ष २०८०/८१ मा नेपालले कुल १ सय ३१ देशमा १ खर्ब ५२ अर्ब ३८ करोड रूपैयाँको निर्यात गर्दा कुल निर्यात कुल गार्हस्थ्य उत्पादनको ७.९४ प्रतिशत रहेको थियो । कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ५६.४ प्रतिशत, ४२.९ प्रतिशत र ०.७ प्रतिशत रहेको थियो । नेपालले निर्यात गर्ने प्रमुख वस्तुहरुमा अलैंची, जिङ्क सिट, गलैंचा तथा तयारी पोशाक, जुस, पाम आयल, पोलिस्टरको धागो रहेको थियो भने प्रमुख देशहरुमा भारत, अमेरिका, जर्मनी, युके, चाईना र युएई थिए ।

आर्थिक वर्ष २०८१ /८२ को ११ महिनाको तथ्याङ्क विश्लेषण गर्दा, कुल वस्तु निर्यात ७७.८ प्रतिशतले वृद्घि भई २ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ पुगेको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुट, चिया जस्ता वस्तुको निर्यात बढेको छ भने पाम आयल, जिङ्क सिट, जुस, तयारी पोशाक, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ ।

निर्यात मूल्यको आधारमा मुख्य निर्यात भएका वस्तुहरुमा सोयाविन तथा सूर्यमुखि तेल, गलैंचा तथा तयारी पोशाक, अलैंची, रोल्ड आयरण तथा पोलिस्टरको धागो रहेका छन् भने मुख्य निर्यातकर्ता देशमा भारत, यूएसए, जर्मनी, युके, युएई, तथा चाईना रहेका छन् । त्यस्तै मुख्य निर्यात गर्ने भन्सार नाकाहरुमा वीरगञ्ज, विराटनगर, त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थल, मेची, भैरहवा, सुख्खा बन्दगाह र जलेश्वर रहेका छन् । कुल निर्यातको करिब ३७ प्रतिशत निर्यात वीरगञ्जबाट भएको देखिन्छ ।

नेपालको कुल निर्यातको करिब ४२ प्रतिशत अंश कच्चा तेल र तेल जन्य पर्दाथको रहेको छ । गलैंचा तथा तयारी पोशाकको अंश करिब ४ प्रतिशत, अलैंचीको अंश करिब ३ प्रतिशत, रोल्ड आयरण, जुट, पोलिस्टरको धागो तथा जुसको अंश दुई-दुई प्रतिशत रहेको छ । यसरी नेपालले निर्यात गर्ने प्रमुख वस्तुहरु आफैंमा आयातित वस्तुहरु रहेकोले नेपालमा भ्यालुएड गर्ने काम मात्र भएको देखिन्छ । यसले नेपालको निर्यातमा उच्च जोखिम साथै न्यून दिगोपन रहेको देखिन्छ । विगत एक दशकको निर्यात कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ११ प्रतिशत भन्दा तल रहेको छ ।

आयात संरचना
आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्घि भई १६ खर्ब ४४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । कुल वैदेशिक व्यापारमा आयातको अंश ८६.९२ प्रतिशत रहेको छ । उक्त अवधिमा नेपालले १७३ देशबाट आयात गरेकोमा मूल्यको आधारमा नेपालले आयात गर्ने प्रमुख मुलुकहरुमा भारत, चाईना, अर्जेटिना, यूएई, युक्रेन, यूएसए र अस्ट्रेलिया रहेका छन् । उक्त अवधिमा आयात भएका प्रमुख वस्तुहरुमा डिजेल, कच्चा सोयाविन तेल, पेट्रोल, एलपिजि ग्यास, स्पोन्ज आईरन, स्मार्ट फोन, आईरन सिट, कोईल, औषधि, कच्चा सूर्यमुखी तेल, धान, सवारीसाधन, सुन आदि रहेका छन् । त्यस्तै मुख्य आयात गर्ने भन्सार नाकाहरुमा मा वीरगञ्ज, भैरहवा, सुख्खा बन्दगाह विराटनगर, त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थल, रसुवा र नेपालगञ्ज रहेका छन् । कुल आयातको ३४ प्रतिशत आयात बिरगञ्ज नाकाबाट भएको देखिन्छ ।

नेपालको कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ३९.४ प्रतिशत, ५१.६ प्रतिशत र ९.६ प्रतिशत रहेको छ । यसरी अयात गरिएका वस्तुहरुमा पुँजीगत वस्तुको अनुपात निकै कम रहेकोले आयातले मुलुकको आर्थिक विकासमा खासै योगदान नगर्ने देखिन्छ । साथै खाद्यजन्य वस्तुहरुको आयात समेत बढदै गएकोले भविष्यमा आयातमा निर्भरता बढदै जाने देखिन्छ । आयातको आकार तथा संरचना दुवै सन्तोषजनक देखिँदैन । आयातको आकार आफैंमा ठूलो समस्या होइन । तर, आयातमा उपभोग्य वस्तुको ठूलो अंश भएको आयातले देशमा उद्योग धन्दा, कलकारखाना खोल्न तथा जन्तालाई उधमशिल बनाउन मद्दत गर्दैन । दुःख गरेर विदेशबाट विप्रेषण भित्राई उपभोग्य वस्तुहरु आयात गर्दै जाने हो भने देश कहिले आत्मनिर्भर बन्दैन ।

व्यापार सन्तुलन संरचना
आर्थिक वर्ष २०८०/८१ मा व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ तथा निर्यात आयात अनुपात ९.६ प्रतिशत रहेको थियो । साथै, व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत रहेको थियो । उक्त अवधिमा नेपालले कुल १६३ भन्दा बढी देशबाट आयात र १३१ देशमा निर्यात गरेकोमा जम्मा १३६ देशसँग व्यापार घाटा र ३६ देशबाट व्यापार नाफा रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तथ्याङ्कक विश्लेषण गर्दा, वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्घि भई १३ खर्ब ९७.२३ अर्ब रुपैयाँ पुगेको छ भने निर्यात आयात अनुपात १५.१ प्रतिशत पुगेको छ । समिक्षा अवधिमा नेपालले वैदेशिक व्यापार गरेको कुल १६३ देश मध्य १२७ देशसँग व्यापार घाटा र ३६ देशबाट व्यापार नाफा रहेको छ । नेपालको ठूलो व्यापार घाटा रहेका देशहरुमा भारत, चाईना, अर्जेटिना, युक्रेन, युएई र अस्ट्रेलिया रहेका छन् भने व्यापार नाफा रहेका देशहरुमा डेनमार्क, रसिया, रोमानिया, लाओस र आइसल्यान्ड रहेका छन् ।

भुक्तानी सन्तुलन तथा विदेशी विनिमय सञ्चिति संरचना
आर्थिक वर्ष २०८०/८१ असार मसान्तमा चालुखाता २ खर्ब २१ अर्ब ३४ कोड रुपैयाँले र भुक्तानी सन्तुलन ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको थियो । २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ (१५.२७ अर्ब युएसडी) रहेको थियो जुन १५.६ महिनाको वस्तु आयात तथा १३ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तथ्याङ्कक विश्लेषण गर्दा, चालुखाता ३ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँले र भुक्तानी सन्तुलन ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको छ । २०८२ जेठ मसान्तमा विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ (१८.६५ अर्ब युएसडी) रहेको छ, जुन १७.६ महिनाको वस्तु आयात तथा १४.७ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त रहेको छ । विदेशी विनियम सञ्चिति कुल गार्हस्थ्य उत्पादन र कुल आयातको तुलनामा क्रमशः ४२.१ प्रतिशत र १२२.९ प्रतिशत पुगेको देखिन्छ ।

वैदेशिक व्यापारका समस्या, जोखिम तथा गन्तव्य
नेपालको वैदेशिक व्यापारमा विगतको वर्षमा केही सुधार देखिएतापनि दिर्धकालमा उच्च जोखिम र न्यून दिगोपन देखिन्छ । नेपालको वैदेशिक व्यापारका प्रमुख समस्या र चुनौतीहरु यस प्रकारका रहेका छन् :

– निर्यातजन्य उद्योगमा आयतित कच्चा पर्दाथमा आधारित उद्योगको बाहुल्य रहेकोले निर्यातले केही भ्यालुएड गर्ने काम मात्र गरेको देखिन्छ ।

– नेपालले निर्यात गर्ने सामानहरुमा अधिकांश प्राथमिक र कृषिमा आधारि वस्तुहरु मात्र रहनु ।

– निर्यातजन्य उद्योगमा पर्याप्त वैदेशिक लगानी आकर्षित गर्न नसक्नु ।

– निर्यात व्यापारको विविधिकरण गर्न नसक्दा निर्यातको आधार साँघुरो हुनु ।

– वैदेशिक लगानी आकर्षित गर्न आर्थिक कुटानीतिको प्रभावकारी प्रयोग गर्न नसक्नु ।

– पुँजी र श्रमको उत्पादकत्व बढाउन नसकेकोले उच्च उत्पादन लागत तथा कम गुणस्तरका वस्तु उत्पादन गर्नु ।

– भारतीय पक्षसँग व्युरो अफ इन्डियन स्टान्डर्डबारे स्पष्ट सम्झौता गर्न नसक्नुको कारण निर्यातमा विभिन्न अवरोधहरुको सामना गर्न बाध्य हुनु ।

– तुलनात्मक लाभ भएका वस्तुहरुको स्पष्ट पहिचान तथा उत्पादन तथा बजारीकरण गर्न नसक्नु ।

– डिजिटल व्यापार तथा ई-कमर्सको उचित प्रयोग गर्न नसक्नु ।

– निजि क्षेत्र उत्पादन मूलक उद्योग भन्दा व्यापार मुलक उद्योगमा आकर्षित हुँदा देशमा उत्पादन मूलक उद्योगको पर्याप्त विकास हुन नसक्नु ।

– उद्योगीहरुमा नवप्रवर्तन तथा उद्यमशीलताको कमी हुनु ।

– डुइङ बिजनस इन्डेक्समा पर्याप्त सुधार गर्न आवश्यक पूर्वाधार र वातावरण निर्माण गर्न नसक्नु ।

– कुल आयातमा पुँजीगत वस्तुको अंश निकै कम भएकाले आयातले औद्योगिकरणमा सहयोग गर्न नसक्नु ।

– कुल निर्यातमा उच्च मूल्यका पुँजीगत वस्तुहरुको अंश नगण्य हुनु ।

– विश्व व्यापार संगठन, साफ्टा, बिमस्टेक, जस्ता अन्तर्राष्ट्रिय तथा क्षेत्रिय संगठनहरुबाट पर्याप्त लाभ लिन नसक्नु ।

– वैदेशिक व्यापार सम्बन्धी पर्याप्त अध्ययन अनुसन्धानको कमी हुनु ।

नेपालको वैदेशिक व्यापारको संरचनाको अध्ययन गर्दा दीर्घकालमा उच्च जोखिम र न्यून दिगोपन रहेको देखिन्छ । निर्यातको आधार साँघुरो भएको तथा आयात उपभोगमुखी भएको कारण वैदेशिक व्यापारबाट नेपालले पर्याप्त फाइदा लिन सकेको देखिँदैन । अर्थतन्त्रमा भएको संरचनागत समस्याको सामाधान नगरेसम्म देश भित्र औद्योगिक वातावरण निर्माण गर्न सम्भव छैन । अन्तरिक अर्थतन्त्र सबल नबनाईकन निर्यात प्रबर्द्धन र आयात प्रतिस्थान दुवै सम्भव देखिँदैन ।

वैदेशिक व्यापार सुधार र अबको गन्तव्य
नेपालले आयात गर्ने प्रमुख वस्तुहरुको अध्ययन गरेर तुलनात्मक लाभ भएका वस्तुहरुको पहिचान गरी आन्तरिक उत्पादन बढाउनु पर्ने देखिन्छ । उदाहरणका लागि पर्याप्त जलविद्युतको उत्पादन तथा प्रयोग गर्न सकेमा पेट्रोलियम पर्दाथको आयात सजिलै घटाउन सकिन्छ । त्यस्तै कृषि क्षेत्रको आधुनिकीकरण गरि उत्पादन र उत्पादकत्व बढाउन सकेमा कृषि उत्पादनहरूको आयात घटाउन सकिन्छ । कृषिमा आधारित वस्तुको आयात प्रतिस्थापन गर्न आयात हुने प्रमुख वस्तुको विश्लेषण गरेर वस्तु अनुसारको पकेट क्षेत्र घोषणा गरेर ती वस्तुको उत्पादन बढाउन कार्ययोजना बनाई निश्चित समय भित्र आत्मनिर्भर हुने गरि कार्य अगाडि बढाउनुपर्छ ।

निर्यात क्षेत्रमा तुलनात्मक लाभ भएका वस्तुहरुको पहिचान गरी निर्यातलाई विविधिकरण गर्न सकेमा निर्यातको दायरा बढाउन सकिन्छ । विश्व बजारको माग अध्ययन गरेर नयाँ वस्तुहरु पहिचान र उत्पादन गर्न सक्नुपर्छ । यसको साथै उत्पादित वस्तुको गुणस्तर, प्याकेजिङ्ग, लेबलिङ, ब्रान्डिङ र बजारीकरणमा समेत उतिकै ध्यान दिनुपर्ने जरुरी देखिन्छ । अबको समय वस्तुको निर्यातमा मात्र सिमित नभई जल–विद्युत, पर्यटन, वित्त, शिक्षा, मेडिकल, डिजिटल तथा आईटी सेवा र वौद्धिक सम्पत्ति निर्याततर्फ समेत ध्यान दिनुपर्ने हुन्छ । नेपालले उच्च मूल्यका पुँजीगत वस्तुहरु तत्काल उत्पादन गर्न सम्भव नभए तापनि ती वस्तुहरुको स–साना पार्ट पूर्जाहरु उत्पादन गर्नतर्फ ध्यान दिनुपर्छ । ठूला मल्टीनेसनल तथा ट्रान्सनेसनल कम्पनीमध्ये केहीलाई नेपाल भित्र्याउन सकेको खण्डमा देशको ख्यातिमा व्यापक सुधार आउने भएकोले त्यसतर्फ समेत पहल गर्नुपर्ने देखिन्छ । यसको लागि निजी क्षेत्रले विशेष पहल गर्नुपर्ने देखिन्छ ।

समग्रमा, नेपाल संग पुँजी, प्रविधि, तथा उद्यशीलताको कमी रहेकोले वैदेशिक लगानी नभित्र्याई औद्योगिकरण गर्न सम्भव नदेखिएको कारण वैदेशिक लगानीसँग सम्बन्धित समस्याहरु सामाधान गरी लगानी मैत्री वातावरण तयार गर्न तथा स्थानिय उद्योगहरुको उत्पादन, उत्पादकत्व, गुणस्तर र बजारीकरण गर्न सबै पक्ष हातेमालो गर्नुपर्ने देखिन्छ ।

(नेपाल राष्ट्र बैंकका सहायक निर्देशक झा त्रिभुवन विश्वविद्यालयमा बैंकिङ नियमन तथा सुपरीवेक्षण विषयमा पीएचडीका शोधकर्ता हुन् ।)