
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ नेपाली चलचित्र उद्योगका लागि ऐतिहासिक वर्ष बनेको छ । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार गत वर्ष नेपाली चलचित्रले १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी व्यापार गरेका छन् । वर्षभरिमा कुल ६२ वटा नेपाली चलचित्र प्रदर्शनमा आएका थिए ।
यसैगरी ८३ वटा हिन्दी चलचित्रले ९० करोडको व्यापार गरेका छन् । पछिल्ला वर्षमा यति धेरै व्यापार भएको थिएन ।
गत आवमै प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारंगी’ इतिहासकै बढी कमाउने चलचित्र बनेको छ । सो चलचित्रले ४६ करोड ८० लाख रुपैयाँ ग्रस आम्दानी गरेको हो । पूर्णबहादुरको सारंगी १७ लाख जनाले हेरेको बक्स अफिसको तथ्यांक छ, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
२०८१/८२ मा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रहरूः
१) पूर्णबहादुरको सारंगी : ४६ करोड ८० लाख रुपैयाँ
२) १२ गाउँ : १९ करोड ९२ लाख रुपैयाँ
३) छक्कापञ्जा ५ : १५ करोड २० लाख रुपैयाँ
४) बोक्सीको घर : १० करोड २ लाख रुपैयाँ
५) अञ्जिला : ७ करोड ५० लाख रुपैयाँ
६) पूजार सार्की : ७ करोड ३७ लाख रुपैयाँ
७) घरज्वाइँ : ५ करोड ९ लाख रुपैयाँ
८) फर्की फर्की : ४ करोड ८४ लाख रुपैयाँ
९) मनसरा : ४ करोड ७८ लाख रुपैयाँ
१०) लाज शरणम् : ४ करोड ३४ लाख रुपैयाँ
११) ह्रस्व दीर्घ : ४ करोड ३३ लाख रुपैयाँ
१२) गाउँ आएको बाटो : ४ करोड १९ लाख
१२ वटा चलचित्रले नै १ अर्ब ३४ करोड रुपैयाँ (७४.४४ प्रतिशत )को व्यापार गरेका हुन् । १० करोड क्लबमै चारवटा चलचित्र परे । यसले पनि गत आव चलचित्रका लागि खुसीको वर्ष रहेको स्पष्ट हुन्छ ।
चलचित्र व्यवसायीका अनुसार काठमाडौं, पोखरा, चितवन, इटहरी लगायतका प्रमुख सहरमा मल्टिप्लेक्स विस्तारसँगै दर्शकको आकर्षण र व्यवसायमा तीव्र वृद्धि देखिएको छ ।







प्रतिक्रिया