टिस्यु पेपर बेच्ने कम्पनीले ६ महिनामा गर्‍यो साढे १ अर्बको व्यापार

1.5k
Shares

काठमाडौं । प्यूर ब्रान्डको टिस्यु पेपर रोल बेच्ने अरिहन्त अटो कोरुगेशनले चालु आर्थिक वर्षको ६ महिनामा साढे एक अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आवको ६ महिनाको अवधिमा १ अर्ब ५९ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२४ मा २ अर्ब ५६ करोड २० लाख, सन् २०२३ मा २ अर्ब ५१ करोड २० लाख र सन् २०२२ मा २ अर्ब ३५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१० मा स्थापना भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको छ । कम्पनीले विभिन्न प्रकारका कार्डबोर्ड बक्सेस, क्राफ्ट पेपेर, लेमिनेटेड वुड र डुप्लेक्स पेपरको उत्पादन गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ५६ करोड २३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ४४ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीको व्यापार सन् २०२१ देखि २०२४ सम्ममा १४ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२४ मा ३६ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । सन् २०२३ मा ३० करोड रुपैयाँ नाफा कमाएको कम्पनीले सन् २०२४ मा ७ करोड १० लाख र सन् २०२३ मा ४ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले सन् २०२४ मा व्यापार गरेकोमध्ये ७८ प्रतिशत कारोबार कच्चा पदार्थको रहेको छ । कम्पनीले पेपर उत्पादनका लागि भारत र चीनबाट आयात गर्दै आएको छ । सन् २०१० मा स्थापना भएको कम्पनीको व्यवस्थापन निर्देशक पारस लुनिया हुन् ।