
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम तयार पारेको छ । बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम तयार गरेको हो ।
धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार नीति तथा कार्यक्रम तयार भई सञ्चालक समितिबाट समेत पारित भइसकेको छ । ‘नीति तथा कार्यक्रम तयार भएर सञ्चालक समितिबाट पास भइसकेको छ,’ घिमिरेले भने, ‘सम्भवत आइतबार वा आउने साताभित्र सार्वजनिक हुनेछ ।’
उनले नीति तथा कार्यक्रमहरु नियमित किसिमका रहेको पनि जानकारी दिए । यसअघि सेबोनले सम्बन्धित तथा सरोकारवाला पक्षहरूसँग छलफल तथा सुझाव संकलन पनि गरेको थियो ।
बोर्डको नीति तथा कार्यक्रमको लक्ष्य बजारलाई सन्तुलित रूपमा विकास र विस्तारका साथै समस्त पुँजी बजारलाई पारदर्शी, विश्वसनीय बनाउने रहेको बताइएको छ ।
गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा बोर्डले धितोपत्र बजारलाई थप स्वच्छ, प्रतिस्पर्धी र पारदर्शी बनाई बजारको स्थायित्व तथा लगानीकर्ताको हित प्रवद्र्धन गरी धितोपत्र बजारमा जन विश्वास बढाईने, बोर्डको संस्थागत सुदृढीकरण र संरचनागत सुधार तथा क्षमता अभिवृद्धि गर्दै लगिने तथा धितोपत्र बजारको थप प्रभावकारी नियमन तथा सुपरिवेक्षण मार्फत् गलत अभ्यासलाई निरुत्साहित गरिने घोषणा गरेको थियो ।
यस्तै, धितोपत्र बजार र धितोपत्र व्यवसायको नियमन तथा सुपरिवेक्षण कार्यलाई विद्युतीय प्रणालीमा आवद्ध गर्दै लगिने, नेपाल सरकारको बजेट बक्तव्यमा उल्लेख भए बमोजिम वस्तु विनिमय बजार संचालन गर्न कानूनी र संस्थागत व्यवस्था मिलाइने, धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी प्रचलित कानूनलाई अन्तर्राष्ट्रिय सिद्धान्त तथा मापदण्ड अनुरुप समयसापेक्ष बनाउने र नेपाल धितोपत्र बोर्ड तथा धितोपत्र बजार सम्बन्धी छुट्टाछुट्टै ऐन तर्जुमा गर्ने कार्य अगाडि बढाइने पनि उल्लेख गरिएको थियो ।
यसका अलावा हरित बोन्ड, ऊर्जा बोन्ड लगायत अन्य नवीन वित्तीय औजारहरुको निष्काशन तथा कारोवारको सहज एवम् भरपर्दो व्यवस्था गर्न आवश्यक कानूनी व्यवस्था गरिने, धितोपत्र बजारको नियमनलाई व्यवस्थित बनाउने सम्बन्धमा प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गरिने र धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाहरुले बोर्ड समक्ष पेस गर्नुपर्ने प्रतिवेदनमा एकरुपता कायम गरिने विषय पनि समेटिएको थियो ।
यस वर्ष पनि बोर्डले यी र यस्तै किसिममा विषयलाई समेटेर नीति तथा कार्यक्रम तयार पारेको जानकारी दिएको छ ।








प्रतिक्रिया