भारतले कच्चा तेलको भन्सार घटाएपछि नेपालका रिफाइनरी प्रभावित, उत्पादन आधा


विराटनगर । भारतले स्वदेशी उद्योगको संरक्षणका लागि रिफाइनरी तेलको कच्चा पदार्थ पाम आयलको आयातमा भन्सार महसुल घटाएपछि भारत निर्यातमा टिक्दै आएका नेपाली रिफाइनरी तेल उद्योग प्रभावित भएका छन् । नेपाली रिफाइनरी तेल उद्योगले मलेसिया र इन्डोनेसियाबाट १० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट तिरेर कच्चा पाम आयल आयात गरेर त्यसलाई प्रशोधन (परिष्कृत) गरी दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत भारत निकासी गर्दै आएका छन् ।

भारतमा स्थानीय उद्योगले मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम आयात गर्दा २७ प्रतिशत भन्सार महसुल लाग्दै आएको थियो । तर, भारतको केन्द्रीय सरकारको वित्त मन्त्रालय अन्तर्गतको सेन्ट्रल बोर्ड अफ इन्डाइरेक्ट ट्याक्सेस एन्ड कस्टम्सले ३१ मे २०२५ बाट लागू हुने गरी कच्चा पाम आयातमा १७ प्रतिशत मात्र भन्सार महसुल कायम गरेपछि नेपाली रिफाइनरी तेल उद्योग प्रभावित भएका हुन् ।

भारतले २७ प्रतिशत भन्सार शुल्क लिँदा १० प्रतिशत भन्सार महसुल तिरेर कच्चा पाम आयात गर्ने नेपाली २७ वटा रिफाइनरी उद्योगले भारतीय बजारमा प्रशोधित तेल पठाएर नाफा कमाउँदै आएका थिए । भारतमा कच्चा पाम आयात गर्दा यसबेला १७ प्रतिशत मात्र भन्सार शुल्क लाग्दा नेपाली उद्योगले उत्पादन कटौती गर्न थालेका छन् ।

‘कच्चा पाम आयात गर्दा नेपालमा १० र भारतमा २७ प्रतिशत भन्सार महसुल हुँदा नेपाली उत्पादनले भारतमा सबै खर्च कटाएर उद्योगलाई बढीमा ६–७ प्रतिशत नाफा हुँदै आएको थियो, एक उद्योगीले भने, ‘अहिले त्यही नाफा पनि १० प्रतिशतले घटेको छ । त्यसैले अब नेपालबाट प्रशोधित तेल भारत पठाउनु भनेको सबै खर्च कटाएर नाफा शून्य भई हुने भएपछि उद्योगले उत्पादन कटौती गर्नुको विकल्प छैन । उनका अनुसार रिफाइनरी तेलको स्वदेशी उपभोग १० प्रतिशत पनि छैन ।’

रिफाइनरीमध्ये सोयाबिन र सनफ्लावर तेल निकासी हुने नेपाली औद्योगिक उत्पादनमध्ये प्रमुख हो । चालु वर्षको १० महिनामा सोयाबिन तेल ७८ अर्ब ७५ करोड ६६ लाख रूपैयाँ र सनफ्लावर तेल १० अर्ब ९ करोड ४९ लाख रूपैयाँको निकासी भएको छ । त्यसमध्ये विराटनगर नाकाबाट मात्र ११ महिनामा २८ अर्ब ६१ करोड ८२ लाख ३१ हजार रूपैयाँको रिफाइनरी तेल भारत निकासी भएको तथ्यांक छ ।

भारतको सीमावर्ती राज्यहरू बिहार, पश्चिम बंगाल र उत्तर प्रदेशमा नेपाली प्रशोधित पाम, सोयाबिन र सनफ्लावर तेलको माग उच्च रहँदै आएको छ ।

भारतमा यसअघि किसानलाई संरक्षण गर्दै कच्चा पाम आयातमा भन्सार महसुल उच्च दर कायम गर्दै आएको थियो । पछिल्लो समय भारतमा सोयाबिनको बिउ उत्पादनमा ५ लाख टनले घटेर सोयाबिन तेल उत्पादन गर्ने औद्योगिक क्षेत्रमा प्रभाव परेपछि भारत सरकारले कच्चा पाम आयातमा १० प्रतिशत भन्सार महसुल घटाएर स्वदेशी उद्योगलाई उत्पादन बढाउन प्रोत्साहन गरेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

भारतमा अघिल्लो वर्ष १ करोड २४ लाख टन सोयाबिनको बिउ उत्पादन भएको थियो । यस वर्ष १ करोड १९ लाख टन मात्र उत्पादन भएको उल्लेख गरिएको छ । भारतमा वार्षिक २३ लाख टन सोयाबिन तेल उत्पादन हुने गरेकोमा पछिल्लो समय ६ लाख टनले उत्पादन घटेको र सोयाबिन र सनफ्लावर तेलको आयात पनि पछिल्लो समय ६.५ प्रतिशतले घटेपछि स्वदेशी उत्पादन बढाउन सरकारले कच्चा पाम आयातमा भन्सार महसुल घटाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

कोशीमा मात्र रिफाइनरी तेल उद्योग ८ वटा छन् । ती उद्योगको प्रमुख बजार भारत नै हो । उद्योग संगठन मोरङका अध्यक्ष तथा बागमती आयल इन्डस्ट्रिजका सञ्चालक नन्दकिशोर राठीले भने, ‘भारतले रिफाइनरी तेल उद्योगको कच्चा पदार्थ पामको आयातमा भन्सार महसुल घटाएपछि सस्तो लागतमा कच्चा पाम प्रशोधित गर्ने भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्न नेपाली उद्योगलाई गाह्रो भएको छ ।’ उनका अनुसार उत्पादन लागत र ढुवानी खर्चका कारण नेपाली उत्पादन अब भारतीय उत्पादनभन्दा महँगो भएर बजार नै गुमाउने अवस्था आएको छ ।

सरकारले भारतीय बजार सुनिश्चित गर्न केही निकासीजन्य वस्तुका नाममा विशेष सुविधा भारतसँग माग्नुपर्ने अवस्था रहेको उद्योगहरूको भनाइ छ । त्यस्तो सुविधा नभए जहिले पनि नेपाली उद्योग संकटको वातावरणमा चल्नु पर्ने अवस्था कायमै रहने उनीहरूको गुनासो छ ।

पशुपति खाद्य तेलका सञ्चालक तथा मोरङ उद्योग व्यापार संघका सचिव अमित शारडाले भारत सरकारले भन्सार घटाएपछि नेपाली उद्योगहरूले मारमा परेको उल्लेख गर्दै अहिले नेपाली रिफाइनरी तेल उद्योगले झण्डै आधा नै उत्पादन घटाएको बताए ।

नेपाली रिफाइनरी तेल उद्योगले दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत ड्युटी र कोटा फ्रि सुविधा मार्फत प्रशोधित पाम, सोयाबिन र सनफ्लावर तेल निर्यात गर्दै आएका छन् । ती उद्योगले एलसी (प्रतितपत्र) मार्फत कच्चा पाम आयात गरेर प्रशोधित तेल तयारी गर्छन् ।