
काठमाडौं । राजधानीको बबरमहल र मीनभवनमा लिफ्टसहितको आकाशे पुलको निर्माण गर्ने कार्य सुरु भएको छ ।
सडक विभागले ६ करोड ६५ लाख ७४ हजार रुपैयाँको लगानीमा ति दुवै स्थानमा अत्याधुनिक लिफ्टसहितको अकाशे पुल निर्माण गर्न लागेको हो । बबरमहलको सडक विभाग नजिकै र मिनभवनमा शान्तिनगर गेट नजिकै उकालोमा यो अकाशे पुल निर्माण हुन लागेको हो ।
विभागका उपमहानिर्देशक प्रभात झाका अनुसार ति दुवै स्थानमा अकाशे पुल निर्माण गर्न ठेक्कासमेत लागिसकेको छ । बबरमहलमा आकाशे पुल निर्माण गर्न हाइटेक इन्जिनियरिङ्ग वक्र्स प्राइभेट लिमिटेडले भ्याटसहित २ करोड ५२ लाख ४५ लाख रुपैयाँमा ठेक्का हात पारेको हो ।
बबरमहलको जिल्ला अदालतनजिकै ३६.३ मिटर लम्बाई र ३ मिटर चौडाई भएको स्टिलको अकाशे पुल निर्माण हुने भएको छ । यो पुलको निर्माण आगामी वर्ष २०८३ बैशाख २० गते सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ ।
यस्तै मीनभवनको आलोकनगरसँगैको प्रयागमार्गमा भ्याटसहित ४ करोड १३ लाख २८ हजार रुपैयाँ लगानी रहेको स्टिलको अकाशे पुलको ठेक्का आरएस निर्माण सेवा कम्पनीले पाएको छ । ३८ मिटर लम्बाई र ३ मिटर चौडाई भएको यो पुल पनि आगामी वर्ष २०८३ बैशाख १६ गते निर्माण सम्पन्न गर्नुपर्ने अवधी तोकिएको उपमहानिर्देशक झाले जानकारी दिए ।
ववरमहलको ठेक्का २०८२ बैशाख २१ गते र मीनभवनको ठेक्का २०८२ बैशाख १७ गते लागेको थियो । विभागका अनुसार ति दुवै स्थानमा पहिले महानगरपालिकाले लिफ्टसहितको आकाशे पुल बनाउने योजना बनाएको थियो । पछि सडक विभाग र महानगरपालिकाले सहकार्य गरी बनाउने सहमति भएको थियो ।
यो योजनाअनुसार ति दुवै स्थानको लागि लिफ्टसहितको डिजाइन तयार पारिएको हो । अहिले निर्माण हुन लागेको आकाशे पुल लिफ्टको स्थान छाडेर बन्न लागेको हो । आकाशे पुलको निर्माण सम्पन्न भएपछि महानगरपालिकाले ति दुवै आकाशे पुलको दुवै किनारामा आफ्नो लगानीमा लिफ्ट जडान गर्ने विभागले जनाएको छ । निर्माण हुन लागेको यो आकाशे पुल अपाङ्ग मैत्रीसमेत हुनेछन् ।
यो आकाशे पुलमा लिफ्ट जडान गर्ने उद्देश्यले चढ्दा वा और्लदा दुवैतर्फबाट चढ्ने र और्लने भरयांग निर्माण हुने छैन । यसको डिजाइन चीन सरकारले कोटेश्वरस्थित पत्रपथमा निर्माण गरेको आकाशे पुलजस्तै हुनेछ । बानेश्वर चौकमा निर्माण भएको आकाशे पुलमा भने लिफ्ट जडान नहुने गरी चढ्नेतर्फ पनि दुईतर्फ र औलर्नतर्फ पनि दुईतर्फ भरयांग बनाइएको छ ।
‘बाटो काट्नको लागि ति दुवै स्थानमा सर्वसाधारणको ठूलो भिड भएर सवारी अवागमनमा समस्या आइरहेकाले जाम हटाउने र दुघर्टना न्युनिकरण गर्ने उद्देश्यले अत्यधिक जाम भएर सवारी अकाशे पुल निर्माण गर्न लागिएको हो,’ झाले भने ।
आकाशे पुल नहुँदा अहिले दुवै ठाउँमा जेब्रा क्रसिङ राखिएको छ भने ट्राफिक लाइट छ । तर ट्राफिक लाइटले काम नगर्दा पैदलयात्रु र सवारी चालकलाई समस्या पर्दै आएको छ । अब पुल बनेसँगै सो क्षेत्रमा आवतजावत गर्र्न स्थानीयलाई सहज हुनेछ भने दुर्घटनालाई पनि न्युनिकरण गर्न सकिने विभागको भनाई छ ।









प्रतिक्रिया