नेप्सेले सुरु गर्‍यो अडलट कारोबार देखिने व्यवस्था

644
Shares

forex trading chart background exchange digital money and fund vector

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लगानीकर्ताको मागअनुसार अडलट कारोबार देखिने व्यवस्था लागू गरेको छ । साउन १ गतेदेखि नेप्से वेबसाइटको मार्केट डेप्थ मा अडलटका खरिद तथा विक्री आदेशहरू समेत देख्न सकिने नेप्सेले जानकारी दिएको छ ।

नेप्सेले अड लट धितोपत्र हुँदा पनि कारोबार गर्न नसकेको गुनासो भइरहेकाले उक्त प्रविधिगत सुधारबाट त्यस समस्या सम्बोधन हुने विश्वास लिएको छ ।

धितोपत्र कारोबार विनियमावली, २०७५ मा अड लट कारोबारसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । उक्त विनियमावलीअनुसार, यदि धितोपत्रको अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ताको कारोबारलाई, अंकित मूल्य १०० रुपैयाँ भएमा १० कित्ताको कारोबारलाई र अंकित मूल्य १,००० रुपैयाँ भएमा १ कित्ताको कारोबारलाई बोर्ड लट मानिने व्यवस्था गरिएको छ ।

विनियमावलीमा उल्लेखित संख्या भन्दा कम कित्तामा हुने कारोबारलाई अडलट कारोबार भनिएको छ । यस्ता अडलट कारोबारलाई मूल्य परिवर्तन सीमा अर्थात् प्राइस लिमिट र बजार परिसूचक अर्थात् नेप्से इन्डेक्स को गणनामा समावेश गरिँदैन ।

त्यसैगरी, विनियमावलीमा बोर्ड लटमा रहेको धितोपत्रलाई टुक्रयाएर अडलट बनाउने कार्य गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ । नेप्सेले गरेको यो नयाँ सुधारबाट लगानीकर्ताले अडलटका अर्डरहरू पनि प्रत्यक्षरूपमा हेर्न सक्ने सुविधा प्राप्त गर्नेछन्, जसले गर्दा कारोबारमा पारदर्शिता र जानकारीमा आधारित निर्णय प्रवाह बढ्ने अपेक्षा गरिएको छ ।