११ खर्ब ७८ अर्ब राजस्व संकलन, लक्ष्य भन्दा २ खर्ब ४१ अर्ब कम

91
Shares

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको छ । यो राजस्व संकलन लक्ष्यको २ खर्ब ४१ अर्ब रुपैयाँले कम हो । गत वर्ष सरकारले लक्ष्यभन्दा १७ प्रतिशत कम राजस्व संकलन गरेको छ ।

संकलित उक्त राजस्व आर्थिक वर्ष २०८०र०८१ को भन्दा यो १ खर्ब २० अर्ब रुपैयाँले बढी हो । प्रतिशतका आधारमा ११।३३ प्रतिशत वृद्धि हुँदासमेत सरकारले लिएको लक्ष्य अनुसार राजस्व संकलन गर्न भने सकेको छैन् ।

आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ को अर्ध वार्पिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार पनि ९१.६० प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।

अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए । गत आवमा संशोधित लक्ष्यको नजिक पुगेको भएपनि चालू आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी कार्यायोजना बनाएर काम सुरु भएको अर्थ मन्त्रालयको भनाइ छ ।

चालू आर्थिक वर्षमा १३ खर्ब १५‍ अर्ब राजस्व संकलनको लक्ष्य छ । आर्थिक वर्ष २०७१/०७२ मा ४ खर्ब ५ अर्ब, २०७२/०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३/०७४ मा ६ खर्ब ९ अर्ब, २०७४/०७५ मा ७ खर्ब २६ अर्ब, २०७५/०७६ मा ८ खर्ब २९ अर्ब राजस्व संकलन भएको थियो ।

२०७६/०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७/०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८/०७९ मा १० खर्ब ६६ अर्ब, २०७९/०८० मा ९ खर्ब ५७ अर्ब र २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।

सरकारले गत अवमा गैरकर र वैदेशिक अनुदान सहित १२ खर्ब १९ अर्ब रुपैयाँ संकलन गरेको थियो । यस्तो रकमबाट सरकारले १५ खर्ब २३ अर्ब रुपैयाँ खर्च गरेको छ ।

सरकारले पुँजीगत खर्च ८१ प्रतिशतले अर्थात ९ खर्ब ८० अर्ब रुपैयाँ संकलन गरको छ । गत वर्ष सरकारले ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत खर्चको लक्ष्य अगाडि सारेको भएपनि ६३ प्रतिशत अर्थात २ अर्ब २२ अर्ब रुपैयाँ मात्रै खर्च गर्न सकेको छ ।