आर्थिक वर्षसँगै सुरू भयो मौद्रिक नीति कार्यान्वयन, ७ वर्षपछि भयो सम्भव

2.1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष सुरु नहुँदै मौद्रिक नीति कार्यान्वयनमा ल्याएको छ ।

पछिल्लो दशकमा सामान्यत, आर्थिक वर्ष सुरु भए पछिको साता मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्ने र सोही अनुसार क्रमैसँग कार्यान्वयन हुने अभ्यास हुँदै आएको थियो । यसपल्ट भने केन्द्रीय बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष सुरु नहुँदै मौद्रिक नीति जारी गरेका हुन् ।

गभर्नर डा. पौडेलले कार्यकाल सुरु भएदेखि नै वित्त नीति र मौद्रिक नीतिबीच समन्वय हुनुपर्ने तथा अर्थतन्त्रको ड्राइभिङ पोलिसी फिस्कल पोलिसी नै हुनुपर्ने बताउँदै आएका छन् ।

खासगरी बजेट वा वित्त नीति आर्थिक वर्षको पहिलो दिनदेखि नै कार्यान्वयनमा जाने तर मौद्रिक नीति कार्यान्वयन हुन भने एक महिना जस्तो कुर्नुपर्ने स्थिति हुन नहुने गभर्नरको तर्क थियो । त्यसैकारण पनि यो वर्ष हतार गरेरै असार २७ गते मौद्रिक नीति जारी भएको थियो । सोही दिन केही नियामकीय व्यवस्थाहरुमा पनि हेरफेरको उद्घोष भएको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् गरिएका कतिपय व्यवस्थाहरु कार्यान्वयन गर्ने परिपत्र बुधबार साँझ जारी गरेको छ । एकीकृति निर्देशनमा गरिएका हेरफेर बिहीबारबाट कार्यान्वयन हुनेछन् ।

मौद्रिक नीति जारी भएपछि हालका दिनसम्म असारमै मौद्रिक नीति ल्याउने गभर्नरको सूचीमा पौडेल थपिएका छन् । नयाँ नेपाल राष्ट्र बैंक ऐन जारी भएपछि मौद्रिक नीति तर्जुमा गरेर सार्वजनिक गर्नुपर्ने व्यवस्था हुँदै आएको छ ।

त्यसयता पहिलो मौद्रिक नीति २०५९ असार ३२ गते ल्याइएको थियो । यसैगरी पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले ३ वटा मौद्रिक नीति असारमै ल्याएर साउन १ गतेदेखि कार्यान्वयनमा लगेका थिए ।

२०७५ सालमा प्रतिनिधिसभाको निर्वाचन भएयता कहिल्यै पनि असारमा मौद्रिक नीति आएको थिएन । यसलाई क्रमभंगता गर्दै २ महिना अघिमात्र राष्ट्र बैंकको नेतृत्व सम्हालेका गभर्नर डा. पौडेलले असारमै मौद्रिक नीति ल्याएका हुन्।
कतिपय अवस्था सरकारसँगको प्रभावकारी समन्वन हुन नसक्दा आर्थिक वर्ष सुरु भएको एक महिनापछि मात्रै मौद्रिक नीति तर्जुमा भएको देखिन्छ ।

तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति आर्थिक वर्ष सुरु नहुँदै २७ असारमा सार्वजनिक गरेका थिए । त्यसपछि महाप्रसाद अधिकारीले गभर्नरको रुपमा ५ वटा मौद्रिक नीति सार्वजनिक गरेकामा कुनै पनि मौद्रिक नीति आर्थिक वर्ष सुरु नहुँदै सार्वजनिक गरेनन् । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दा त २९ साउन नै भइसकेको थियो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ कार्यान्वयनमा आएपछि केन्द्रीय बैंकले हरेक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था भयो । सोही अनुसार केन्द्रीय बैंकले हरेक वर्ष मौद्रिक नीति तर्जुम गरी सार्वजनिक गर्दै आएको छ ।

ऐनको दफा ४ को १(क) केन्द्रीय बैंकको उदेश्यमै मौद्रिक र विदेशी विनियम नीति निमार्ण गरी व्यवस्थापन गर्ने उल्लेख छ । त्यस्तै राष्ट्र बैंकको काम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था रहेको दफा ५ को १(ख) मा मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यन्वयन गर्नु र गराउनु भन्ने उल्लेख देखिन्छ ।

ऐनका दफा ९४ मा केन्द्रीय बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सम्बन्धी प्रतिवेदन सार्वजनिक जानकारीको लागि प्रकाशन गर्नुपर्ने उल्लेख छ । मौद्रिक नीतिमा बैंकले अघिल्लो वर्ष अवलम्बन तथा लागू गरेका मौद्रिक नीतिको सिंहावलोकन र मूल्यांकन साथै आगामी आर्थिक वर्ष अवलम्बन तथा लागू गर्ने मौद्रिक नीतिको औचित्य र सो को विवेचना उक्त प्रतिवेदनमा समावेश गर्नुपर्ने उल्लेख छ ।

ऐनमा नै आगामी आर्थिक वर्षको अवलम्बन तथा लागू गर्ने मौद्रिक नीतिको औचित्य र सो को विवेचना सहितको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उल्लेख गरेको देखिन्छ । यस आधारमा आर्थिक वर्ष सुरु नहुँदै केन्द्रीय बैंकले मौद्रिक नीति तर्जुमा गरी कार्यान्वयनमा लैजानुपर्ने देखिन्छ ।

आगामी आर्थिक वर्षको लागि केन्द्रीय बैंकले ऐनको मर्मअनुसार नै मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक बुधबार परिपत्र समेत जारी गरेको छ । यससँगै १ साउनदेखि नै नयाँ मौद्रिक नीति पुर्ण रुपमा कार्यान्वयनमा गएको छ ।

कुन गभर्नरले कुन मितिमा ल्याए मौद्रिक नीति ?

आ.व. २०५९/६०- डा. तिलक रावलले २०५९ असार ३२ गते
आ.व. २०६०/६१- डा. तिलक रावलले २०६० साउन ८ गते
आ.व. २०६१/६२- डा. तिलक रावलले २०६१ साउन ४ गते
आ.व. २०६२/६३- विजयनाथ भट्टराईले २०६२ साउन ७ गते
आ.व. २०६२/६४- विजयनाथ भट्टराईले २०६३ साउन ७ गते
आ.व. २०६४/६५- कृष्णबहादुर मानन्धरले २०६४ साउन ७ गते
आ.व. २०६५/६६- कृष्णबहादुर मानन्धरले २०६५ असोज १३ गते
आ.व. २०६६/६७- दीपेन्द्रबहादुर क्षेत्रीले २०६६ साउन ९ गते
आ.व. २०६७/६८- डा. युवराज खतिवडाले २०६७ साउन १२ गते
आ.व. २०६८/६९- डा. युवराज खतिवडाले २०६८ साउन ५ गते
आ.व. २०६९/७०- डा. युवराज खतिवडाले २०६९ साउन १० गते
आ.व. २०७०/७१- डा. युवराज खतिवडाले २०७० साउन ६ गते
आ.व. २०७१/७२- डा. युवराज खतिवडाले २०७१ साउन २ गते
आ.व. २०७२/७३- डा. चिरञ्जीवी नेपालले २०७२ साउन ७ गते
आ.व. २०७३/७४- डा. चिरजीवी नेपालले २०७३ असार ३० गते
आ.व. २०७४/७५- डा. चिरञ्जीवी नेपालले २०७४ असार २५ गते
आ.व. २०७५/७६- डा. चिरञ्जीवी नेपालले २०७५ असार २७ गते
आ.व. २०७६/७७- डा. चिरञ्जीवी नेपालले २०७६ साउन ८ गते
आ.व. २०७७/७८- महाप्रसाद अधिकारीले २०७७ साउन २ गते
आ.व. २०७८/७९- महाप्रसाद अधिकारीले २०७८ साउन २९ गते
आ.व. २०७९/८०- महाप्रसाद अधिकारीले २०७९ साउन ६ गते
आ.व. २०८९/८१- महाप्रसाद अधिकारीले २०८० साउन ७ गते
आ.व. २०८१/८२- महाप्रसाद अधिकारीले २०८१ साउन ११ गत
आ.व. २०८२/८३- प्रा.डा. विश्वनाथ पौडेलले २०८२ असार २७ गते