हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन पाइने, प्रतिकित्ता १५७ रूपैयाँ


काठमाडौं । हिमालयन बैंकको थप सर्वाजनिक निष्कासन (एफपीओ) खुला भएको छ ।

प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता खुला गरिएको एफपीओमा बुधबारबाट आवेदन दिन सकिने भएको हो ।

बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले एफपीओ जारी गरेको हो ।

हाल बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ । जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ ।

सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको सार्वजनिक निष्कासन गरेको हो ।

एफपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्नेछ।

बैंकको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।