
काठमाडौं । ओम्नी मोटर्स प्रालिले चालु आर्थिक वर्षको ९ महिनामा साढे ७९ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ को ९ महिनाको अवधिमा ७९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा ७२ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा ६९ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब २८ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब १ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
ओम्नी ग्रुपद्वारा सञ्चालित यस कम्पनीको व्यापार हरेक वर्ष कमजोर हुँदै गएको पाइएको छ । कम्पनीअनुसार आर्थिक सुस्तता र मागको चक्रमा परिवर्तन हुँदा सन् २०२३ मा ६९ प्रतिशतले व्यापार घटेको उल्लेख गरेको छ । सन् २०२४ मा भने केही सुधार भएको थियो । त्यस्तै, चालु आवको ९ महिनाको अवधिमा वार्षिक दरले ४६ प्रतिशतले व्यापार बढेको जनाएको छ ।
कम्पनीले विशेषगरी हेभी ट्रक सेग्मेन्टको व्यवसायिक सवारी साधन बिक्री गर्दै आएको छ । सन् २०१३ मा स्थापना भएको कम्पनी भारतबेन्च ब्रान्डको व्यवसायिक सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता हो । वीरगञ्ज पर्सामा कार्यालय रहेको कम्पनीको आफ्नै ११ वटा शोरुम छन् । कम्पनीमा पाँच जनाको स्वामित्व रहेको छ । राजिन्द्र काब्रा, दिपंकर काब्रा, विनय काब्रा, उदय काब्रा र सन्दिपकुमार मोहताको स्वामित्व रहेको छ ।
राजिन्द्र काब्रा अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९५ करोड ५४ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३८ करोड ५४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५७ करोड रुपैयाँको रेटिङ गराएको हो ।







प्रतिक्रिया