मनि-सप्लाई

कसरी गरिन्छ पैसाको हरहिसाब र आपूर्ति व्यवस्थापन ?

4.1k
Shares

पैसाको कारोबार नभई सायद हाम्रो कुनै दिन बित्दैन । यसको मात्रा, माध्यम, प्रयोग गर्ने तरिका आदि फरक परे पनि हाम्रो दैनिक जीवनमा कुनै न कुनै रुपमा पैसाको कारोबार भइरहेकै हुन्छ । पैसाले मूलतः वस्तु तथा सेवा विनिमयको माध्यम, मूल्य मापनको इकाई, मूल्यको सञ्चय एवम् भावी भुक्तानीको माध्यमको कार्यहरु गर्दछ ।

हाम्रो जीवनमा प्रत्यक्ष सरोकार राख्ने पैसाको हरहिसाब तथा आपूर्ति व्यवस्थापन कसरी गरिन्छ भन्ने सम्बन्धमा आधारभूत जानकारी (बेसिक कन्सेप्ट) यो आलेखमार्फत् प्रस्तुत गर्ने प्रयास गरिएको छ । आर्थिक कारोबारका लागि आवश्यक पैसाको माग र त्यसको आपूर्तिका सम्बन्धमा थुप्रै अर्थशास्त्रीय सिद्धान्तहरु छन् । तिनै सिद्धान्तको सेरोफेरोमा केन्द्रीय बैंकहरुले आ–आफ्नो मुलुकको प्रचलन एवम् आवश्यकतानुसार मौद्रिक व्यवस्थापन गर्ने गर्दछन् ।

शास्त्रीय अर्थशास्त्रीहरुले पैसाको काम विनिमयको माध्यमको लागि मात्र हुने जनाएका छन् भने प्रसिद्ध अर्थशास्त्री जोन मेनार्ड किन्सले दैनिक कारोबार गर्न, आकस्मिक खर्च गर्न र लगानी गर्नका लागि नगद पैसाको माग गरिने बताएका छन् । मिल्टन फ्रिडमेन लगायतका आधुनिक मौद्रिक अर्थशास्त्रीहरुले त पैसालाई अन्य सम्पत्ति सरह मानेका छन् । सैद्धान्तिक रुपमा हेर्दा अर्थतन्त्रमा नगद पैसाको माग मूलतः मुलुकको जिडिपी अथवा आम्दानीको स्तर, मूल्यस्थिति एवम् ब्याजदरको आधारमा निर्धारण हुने गर्दछ ।

सामान्यतयाः आम्दानी बढ्दा पैसाको कारोबार बढ्ने, मूल्यवृद्धिको समयमा बढी नगदको आवश्यकता पर्ने तथा ब्याजदर बढेको समयमा अवसर लागत वृद्धि हुने भएकोले नगदको माग घट्ने गर्दछ । अझ सुक्ष्म रुपमा हेर्दा आयस्तर, मूल्यस्थिति एवम् ब्याजदरका अतिरिक्त भुक्तानी प्रणालीको विकासको अवस्था, सर्वसाधारणको बैंकिङ ज्ञान तथा व्यवहार र वित्तीय क्षेत्र विकास एवम् मौद्रिकीकरणको अवस्था समेतले पैसाको मागलाई प्रभाव पार्दछ ।

पैसाको मागसम्बन्धी यिनै विषयलाई दृष्टिगत गरी केन्द्रीय बैंकहरुले यसको आपूर्ति गर्ने गर्दछन् । मौद्रिक कारोबारले मुलुकको समग्र मागलाई प्रत्यक्ष प्रभाव पार्ने भएकोले मौद्रिक नीति तर्जुमा गर्दा पैसा अर्थात् मुद्राकोे मागको अवस्था विश्लेषण गरी त्यसको आपूर्ति व्यवस्थापन गरिन्छ ।

मुद्राको आपूर्ति (मनि सप्लाइ) अर्थात् राष्ट्र बैंकको भाषामा मुद्राप्रदाय भन्नाले कुनै निश्चित समयमा अर्थतन्त्रमा उपलब्ध मुद्राको मौज्दातलाई जनाउँछ । यस्तो मौज्दातको गणना तथा विश्लेषण दुई तरिकाले गर्न सकिन्छ ।

पहिलो, मुद्राको उपयोगका आधारमा र दोस्रो यसको स्रोतका आधारमा ।

उपयोगका आधारमा गणना गर्दा कुनै निश्चित समय अर्थात् दिनमा सर्वसाधारणसँग चलनचल्तीमा रहेको नगद पैसा र बैंक तथा वित्तीय संस्थामा राखिएको सबै प्रकारका निक्षेप (चल्ती, बचत, मुद्दति, कल, मार्जिन, आदि) लाई जोड्दा जति हुन्छ, त्यो नै उक्त समय वा दिनको मुद्राप्रदाय हो । उदाहरणका लागि नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८२ जेठ ३१ गते सर्वसाधारणसँग चलनचल्तीमा ६ खर्ब ४५ अर्ब रुपैयाँ नगद र बैंक तथा वित्तीय संस्थाहरुमा ६९ खर्ब रुपैयाँ निक्षेप रहेको थियो । यी दुईको जोड ७५ खर्ब ४५ अर्ब रुपैयाँ नै उक्त दिनको मुद्राप्रदाय (मनि सप्लाइ) हो ।

स्रोतको आधारमा मुद्राको आपूर्ति गणना गर्दा मौद्रिक क्षेत्रको खुद बाह्य सम्पत्ति र खुद आन्तरिक सम्पत्तिलाई जोडिन्छ । खुद बाह्य सम्पत्ति भन्नाले मौद्रिक सुन, अन्तर्राष्ट्रिय मुद्राकोषसँगको मौज्दात, रेमिट्यान्स, पेन्सन, बाह्य अनुदान तथा सहयोग, पर्यटन, वैदेशिक लगानी लगायतका स्रोतबाट नेपाल भित्रिने रकममा गैर–आवासीयको निक्षेप तथा अन्य वैदेशिक दायित्व घटाउँदा आउने परिमाणलाई जनाउँछ । त्यसैगरी, खुद आन्तरिक सम्पत्ति भन्नाले बैंकिङ क्षेत्रले सरकारसँग लिनुपर्ने दाबी र निजी लगायत अन्य विभिन्न क्षेत्रमा गएको कर्जामा बैंकहरुको पुँजी एवम् अन्य खुद अमौद्रिक दायित्व घटाउँदा आउने रकम पर्दछ ।

यसरी स्रोतको आधारमा हेर्दा खुद वैदेशिक सम्पत्ति र खुद आन्तरिक सम्पत्तिको योग बराबर मुद्राको आपूर्ति हुन्छ । उदाहरणका लागि नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८२ जेठ ३१ गते खुद वैदेशिक सम्पत्ति २५ खर्ब ५४ अर्ब रुपैयाँ र खुद आन्तरिक सम्पत्ति ४९ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो । स्रोतको आधारमा हेर्दा यी दुई शीर्षक अन्तर्गत रहेको रकमको योगफल ७५ खर्ब ४५ अर्ब रुपैयाँ नै उक्त समयको मुद्राप्रदाय (मनि सप्लाई) हो । मुद्राको उपयोगका आधारमा तथ्यांक गणना गर्न सहज हुने भएपनि मौद्रिक विश्लेषणका लागि भने मुद्राप्रदायको स्रोतलाई बढी महत्व दिने गरिन्छ ।

अर्थतन्त्रमा रहेको कुल मुद्रा आपूर्ति चलनचल्तीमा रहेको मुद्रा र बैंकहरुमा रहेको सबै किसिमका निक्षेपको जोड भएपनि हामीले माथिको उदाहरणमा गणना गरेजतिको मुद्रा आपूर्ति भौतिक रुपमा उपलब्ध हुँदैन । बैंकहरुमा रहेको निक्षेपको निश्चित प्रतिशत रिजर्भको रुपमा राखी बाँकी रकम कर्जा प्रवाह हुने र त्यो पुनः निक्षेपको रुपमा बैंकमा जाने भएकोले तोकिएको रिजर्भ अनुपात अनुरुप नयाँ मुद्रा सिर्जना हुँदै जान्छ । तसर्थ, अर्थतन्त्रमा गणना गरिएको कुल मुद्रा आपूर्तिभन्दा भौतिक रुपमा उपलब्ध हुने मुद्राको मात्रा कमै हुन्छ ।

नेपालमा चलनचल्तीको लागि आवश्यक मुद्रा (नोट तथा सिक्का) निष्काशन गर्ने काम नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था अनुरुप राष्ट्र बैंकले गर्दछ । मुद्रा निष्काशन गर्न शतप्रतिशत सुरक्षण आवश्यक पर्छ ।

यस्तो सुरक्षणमध्ये कम्तीमा ५० प्रतिशत सुरक्षण सुन, विदेशी मुद्रा, विदेशी धितोपत्र लगायतका वैदेशिक सम्पत्ति र बाँकी सुरक्षण वापत सरकरी ऋणपत्र, प्रतिज्ञापत्र वा विनिमयपत्र लगायतका स्वदेशी सम्पत्ति हुनुपर्ने व्यवस्था ऐनले गरेको छ । ऐनमा भएको यसै व्यवस्थाअनुरुप बैंकले आर्थिक वृद्धिदर, मूल्यस्थिति, भुक्तानी प्रणालीको अवस्था, मौसमी तत्वहरु, विगतको प्रवृत्ति लगायतका विषयहरु विश्लेषण गरी कम्तीमा ३ वर्षको लागि पुग्ने गरी मुद्रा छपाइ गर्ने अभ्यास रहेको छ ।

मुद्राको आपूर्ति स्थिति विश्लेषणका लागि विभिन्न मौद्रिक योगांकहरु (मनिटरी एग्रिगेट्स) गणना गरिन्छ । खासगरी तरलता र कारोबारको सहजताका आधारमा यस्ता योगांकहरु छुट्याउने गरिए तापनि यसको गणना एवम् परिभाषा भने देशअनुसार फरक हुन सक्छ । मुद्राका विभिन्न स्वरुपमध्ये नगद सबैभन्दा तरल हो भने त्यसपछिको तरल मुद्रा भनेको चल्ती खातामा रहेको निक्षेप (करेन्ट एकाउन्ट डिपोजिट) हो । यस्तो निक्षेप जुनसुकै समयमा र आवश्यक मात्रामा झिकेर प्रयोग गर्न सकिने भएकोले यसलाई नगद सरह मानिन्छ ।

त्यसपछिका तरल मुद्राको रुपमा क्रमशः बचत र मुद्दती निक्षेपलाई लिन सकिन्छ । यसैअनुरुप नेपाल राष्ट्र बैंकले सर्वसाधारणसँग चलनचल्तीमा रहेको नगद र बैंकहरुसँग चल्ती खातामा रहेको निक्षेपको कुल योगलाई संकुचित मुद्राप्रदाय (न्यारो मनि अर्थात् एम१) को रुपमा परिभाषित गरेको छ । त्यसैगरी, संकुचित मुद्राप्रदाय र बैंकहरुसँग रहेको अन्य निक्षेपको रकमलाई जोडेर आउने मौद्रिक योगांकलाई विस्तृत मुद्राप्रदाय (ब्रोड मनि अर्थात् एम२) को रुपमा परिभाषित गरिएको छ ।

विभिन्न मुलुकमा उपलब्ध मौद्रिक उपकरण तथा त्यसको प्रयोगको अवस्थालाई दृष्टिगत गरी मौद्रिक योगांकहरु गणना गर्ने गरिएको हुन्छ । भारतमा सञ्चित मुद्रा (मनिटरी बेस अर्थात् एम जिरो), एम१, एम२, एम३ लगायतका मौद्रिक योगांकहरु गणना गरिन्छ भने नेपालमा मुद्राको आपूर्ति मापन गर्न एम१, एम२ र एम३ सम्मका योगांकहरुको प्रयोग गर्ने गरिएको छ । सर्वसाधारणसँग चलनचल्तीमा रहेको मुद्रा र बैंकहरुमा रहेको सबै किसिमका निक्षेपको योग अर्थात् एम२ लाई नेपाल राष्ट्र बैंकले मुद्राप्रदायको मुख्य मापनको रुपमा लिने गरेको छ ।

पछिल्लो समयमा बैंकहरुमा चल्ती निक्षेप जस्तै तरल प्रकृतिका बचत निक्षेपहरु पनि रहने गरेको सन्दर्भमा संकुचित मुद्रा (एम१) मा बचत निक्षेपको रकम जोडेर एम१ प्लस समेत गणना गर्ने गरिएको छ । यसका अतिरिक्त एम२ र बैंकहरुमा रहेको गैर आवासीय निक्षेपको योगलाई ब्रोड मनि लिक्विडिटी (एम३) को रुपमा परिभाषित गरी सोको तथ्यांक मासिक रुपमा प्रकाशन गर्ने गरिएको छ ।

हाल बैंकिङ क्षेत्रमा वास्तविक समयमा आधारित तथ्यांक सहज रुपमा उपलब्ध भएकोले सर्वसाधारणसँग चलनचल्तीमा रहेको मुद्रा, रिजर्भ मनि, बैंकहरुमा रहेको निक्षेपको अवस्था दैनिक रुपमा हेर्न सकिन्छ । राष्ट्र बैंकले यस्तो तथ्यांक वेवसाइटमार्फत् सार्वजनिक गर्दै आएको छ ।

तथापि, बैंकहरुबीचको अन्तरबैंक निक्षेप लगायत केही तथ्यांकमा आवश्यक समायोजन गरिने र मुद्राप्रदायका स्रोतसम्बन्धी विवरण समेत एकैपटक प्रकाशन हुने भएकोले नेपाल राष्ट्र बैंकले मौद्रिक योगांकसम्बन्धी समग्र तथ्यांक मासिक रुपमा मात्र प्रकाशन गर्ने गरेको छ ।

केन्द्रीय बैंकहरुले दैनिक रुपमा अर्थतन्त्रमा प्रवाह हुने मुद्राको अनुगमन गरिरहेका हुन्छन् । यसका लागि मूलतः सर्वसाधारणसँग चलनचल्तीमा रहेको मुद्रा र बैंकहरुले आफ्नो ढुकुटीसहित केन्द्रीय बैंकमा राखेको मौज्दातलाई अलि प्राथमिकताका साथ हेर्ने गरिन्छ । यसलाई मौद्रिक अर्थशास्त्रको भाषामा सञ्चित मुद्रा (रिजर्भ मनि) भनिन्छ, जुन मुद्रा आपूर्तिको मुख्य आधार हो ।

उदाहरणका लागि नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८२ जेठ ३१ गते सर्वसाधारणसँग चलनचल्तीमा रहेको नगद ६ खर्ब ४५ अर्ब रुपैयाँ, बैंकहरुको ढुकुटीमा रहेको नगद ९४ अर्ब रुपैयाँ, बैंकहरुले राष्ट्र बैंकमा राखेको नगद ३ खर्ब १० अर्ब रुपैयाँ र अन्य निक्षेप १२ अर्ब रुपैयाँ गरी कुल १० खर्ब ६२ अर्ब रुपैयाँ सञ्चित मुद्रा रहेको थियो । यो परिणाम नै उक्त दिनको रिजर्भ मनि हो ।

रिजर्भ मनि र कुल मुद्रा आपूर्ति (एम२) को तथ्यांकका आधारमा मुद्रा गुणक (मनि मल्टिप्लायर) गणना गरी अर्थतन्त्रको विद्यमान तथा भावी मौद्रिक अवस्था विश्लेषण गर्न सकिन्छ । माथि उल्लिखित मुद्राप्रदाय (एम२) र रिजर्भ मनिको तथ्यांकलाई आधार मान्दा हाल हाम्रो मुद्रा गुणक ७ को हाराहारीमा रहेको छ । यसको अर्थ हामीले रिजर्भ मनि एक रुपैयाँले बढाउँदा समग्र मुद्रा आपूर्ति ७ रुपैयाँको हाराहारीमा बढ्छ भन्ने हो ।

तर, मुद्रा गुणकलाई धेरै तत्वहरुले प्रभाव पार्ने भएकाले यहाँ सैद्धान्तिक रुपमा भनिएजस्तै मुद्राको यथार्थ आपूर्ति फरक पर्नसक्छ । खासगरी सर्वसाधारणको बैंकिङ व्यवहार, ब्याजदर, अनिवार्य नगद अनुपात, तरलताको अवस्था, बैंकिङ विकासको अवस्था, अनौपचारिक अर्थतन्त्रको आकार, बैंकिङ सेवाको पहुँच, मुद्रास्फीति अनुमान लगायतका तत्वहरुले गुणकको माध्यमबाट समग्र मुद्रा आपूर्तिलाई प्रभाव पार्दछन् ।

रिजर्भ मनि चलनचल्तीको मुद्रा र बैंकहरुले केन्द्रीय बैंकमा राख्ने मौज्दातको योग भएकोले यस्तो मुद्राको परिमाणमा हुने घटबढले समग्र मुद्राको आपूर्तिलाई प्रभाव पार्दछ । यस्तो प्रभाव मुद्रा गुणकको आकार र माथि उल्लेख भएअनुसार यसलाई प्रभाव पार्ने विभिन्न तत्वहरुमा निर्भर गर्दछ । चलनचल्तीको मुद्रा मूलतः सर्वसाधारणको व्यवहार र ब्याजदरमा आधारित हुन्छ भने बैंकहरुले केन्द्रीय बैंकमा राख्ने रकम नीतिगत रुपमा तोकिएको अनिवार्य नगद अनुपात (सीआरआर) लगायतका अन्य रिजर्भसँग सम्बन्धित हुन्छ ।

यस आधारमा हेर्दा अनिवार्य नगद अनुपात लगागतका अन्य मौज्दात रकम बढ्दा मुद्रा गुणकको आकार कम हुन गई समग्र मुद्रा आपूर्ति घट्छ भने यसको विपरित अवस्थामा मुद्रा आपूर्ति बढ्छ । त्यसैगरी, आफुसँग धारण गर्ने नगदमा सर्वसाधारणले गरेको परिवर्तन अनुसार मुद्राको आपूर्ति प्रभावित हुने गर्दछ, जुन खासगरी ब्याजदर एवम् वित्तीय पहुँचको अवस्थामा निर्भर रहन्छ । तसर्थ, केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत् मूलतः विभिन्न नीतिगत दरहरुमा र कहिलेकाही मुद्राको परिमाणमा सोभैm परिवर्तन गरी समग्र मुद्राको आपूर्तिलाई नियन्त्रण गर्ने गर्दछन् ।

भारुसँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अन्तरिम लक्ष्य (इन्टरमिडियट टार्गेट) को रुपमा लिइँदै आएको सन्दर्भमा यसको मानकको रुपमा विस्तृत मुद्राप्रदाय (एम२) विस्तारलाई निरन्तर अनुगमन गर्नुपर्ने हुन्छ । यसको अर्थ स्थिर विनिमयदरमा चाप पर्न नदिन तथा समग्र बाह्य क्षेत्र स्थायित्व कायम राख्न मौद्रिक योगाङ्कहरुको अवस्था के हुँदैछ भनी छोटो समय अन्तरालमा अनुगमन गर्ने मानकको रुपमा एम२ को परिणाम तथा वृद्धिदरलाई हेर्ने भनिएको हो ।

मौद्रिक नीतिमा उल्लेख भएबमोजिम मुद्रास्फीति र विदेशी मुद्रा सञ्चितिको लक्षित स्तर कायम राख्न तथा आर्थिक वृद्धिको लक्ष्यलाई समेत सहयोग पुग्ने गरी नेपाल राष्ट्र बैंकले एम२ को वृद्धिदर प्रक्षेपण गर्दछ । यसरी एम२ को प्रक्षेपित वृद्धिदर अनुरुप यथार्थ स्थिति भए/नभएको यकिन गरी मौद्रिक नीतिको आवधिक समीक्षामार्फत् नीतिगत व्यवस्थामा आवश्यकतानुसार परिमार्जन गर्ने गरिन्छ । यसका साथै अन्य मौद्रिक योगांक तथा अल्पकालीन ब्याजदरको स्थितिलाई समेत निरन्तर अनुगमन गर्ने गरिन्छ ।

मौद्रिक नीति तर्जुमाको क्रममा मुद्राप्रदायको प्रक्षेपण गर्न अर्थतन्त्रका प्रमुख परिसूचकहरुको विश्लेषण गर्नुका साथै सैद्धान्तिक अवधारणालाई समेत आधारको रुपमा लिने गरिन्छ । यसका लागि मुद्राप्रदायका मुख्य स्रोतको रुपमा खुद वैदेशिक तथा आन्तरिक सम्पत्तिको आगामी अवस्था विश्लेषण गरी आर्थिक वृद्धि र मुद्रस्फीतिको लक्ष्यअनुरुप मुद्राप्रदायको प्रक्षेपण गरिन्छ ।

यस सम्बन्धमा अर्थशास्त्री फिसरले प्रतिपादन गरेको तथा त्यसपछिका अर्थशास्त्रीहरुले परिस्कृत गरेको मुद्राको परिमाणसम्बन्धी सिद्धान्त (क्वान्टिटी थ्योरी अफ मनि) निकै सान्दर्भिक छ । यसले मुद्राप्रदायको वृद्धिदर मूलतः आर्थिक वृद्धिदर र मुद्रास्फीतिले निर्धारण गर्ने जनाउँछ । उदाहरणको लागि आगामी वर्ष आर्थिक वृद्धि ६ प्रतिशत र मुद्रास्फीति ५ प्रतिशत हुने लक्ष्य तय गरिएको छ भने सोका लागि मुद्राप्रदाय (एम२) को वृद्धिदर करिब ११–१२ प्रतिशतले हुनु उपयुक्त मानिन्छ ।

यो उदाहरणमा आम्दानीसँग मुद्राको माग तथा प्रयोगको सम्बन्ध (इनकम भेलोसिटी अफ मनि) लगायतका प्राविधिक विषयलाई समेटिएको छैन । वास्तविक तथ्यांक र सुत्र प्रयोग गरी गणना गर्दा मुद्राप्रदायको वृद्धिदर आर्थिक वृद्धि र मुद्रास्फीतिको योगभन्दा १–२ प्रतिशत विन्दुले माथि हुन सक्छ । यसप्रकार मुद्राप्रदाय (एम२) प्रक्षेपणको वाञ्छित स्तर प्रचलित मूल्यको कुल गार्हस्थ्य उत्पादन (नोमिनल जिडीपी) वृद्धिदरको हाराहारीमै हुने भएतापनि अर्थतन्त्रका अन्य परिसूचकहरुको अवस्था एवम् मौद्रिक उपकरणहरुको प्रयोगका कारण यथार्थ वृद्धिदरमा फरक पर्न सक्दछ ।

आर्थिक वर्ष २०८१/८२ मा एम२ को वृद्धिदर १२ प्रक्षेपण गरिएकोमा वार्षिक विन्दुगत आधारमा २०८२ जेठमा यस्तो वृद्धिदर १२ प्रतिशत नै रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा एम२ को वृद्धिदर १३ प्रतिशत रहने राष्ट्र बैंकको प्रक्षेपण छ ।

संक्षेपमा, संसारका अन्य केन्द्रीय बैंकहरुले जस्तै हाम्रोमा पनि मुद्राको निष्काशन, हरहिसाव तथा आपूर्ति व्यवस्थापनको कार्य राष्ट्र बैंकले गर्दै आएको छ । कुनै निश्चित समयमा चलनचल्तीमा रहेको नगद र सबै प्रकारका निक्षेप अथवा खुद वैदेशिक सम्पत्ति र खुद आन्तरिक सम्पत्तिको योग नै मुद्राको कुल आपूर्ति हुने भएकोले यसमा सर्वसाधारण, बैंकिङ क्षेत्र र केन्द्रीय बैंकको प्रत्यक्ष र अन्य धेरै पक्षको अप्रत्यक्ष प्रभाव रहेको हुन्छ ।

अर्कोतर्फ, आर्थिक वृद्धिदर, ब्याजदर तथा मूल्यस्थिति एवम् भुक्तानी प्रणाली विकासको अवस्थाले मुद्राको माग निर्धारण गर्दछ । मुद्राको माग र आपूर्तिमा आवश्यक सन्तुलन कायम हुनेगरी समष्टिगत आर्थिक स्थायित्व हासिल गर्ने कार्यमा मौद्रिक तथा विवेकशील नियमनका नीतिहरुको महत्वपूर्ण भूमिका हुन्छ । अझ नेपालले भारुसँग स्थिर विनिमयदर प्रणाली अवलम्बन गरेको सन्दर्भमा मुद्राप्रदायलाई वाञ्छित स्तरमा कायम राख्न विशेष सजगता अपनाउनुपर्ने हुन्छ ।

यसर्थ, समग्र मौद्रिक व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाउन मौद्रिक योगांकहरुको सही प्रक्षेपण तथा अनुगमन गरी तोकिएका उद्देश्यअनुरुप नीति कार्यान्वयनका लागि उपयुक्त उपकरणको छनौटमा विशेष ध्यान पुर्‍याउन आवश्यक छ ।

(डा. पोख्रेल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । प्रस्तुत लेखमा व्यक्त विचार लेखकका निजी हुन् ।)