प्रचण्डलाई सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको जवाफः फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानू


फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा कीर्तिपुरको क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बारे प्रश्न गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन् ।

प्रधानमन्त्री ओलीले स्टाटसबाटै प्यारापिट र फ्लडलाइट क्रिकेट मैदानमै गएर हेर्न प्रचण्डलाई आग्रह गरेका छन् ।

प्रचण्डले आफ्नो कार्यकालमा कुनै पनि काम तोकेर नगरेको भन्दै ओलीले आफूले गरेको काम हेर्न प्रचण्डलाई सुझाव दिएका छन् ।

प्रचण्डले जर्जर पारेर छोडेको अर्थतन्त्रलाई आफूले सुधारेको ओलीको भनाइ छ ।

प्रचण्डलाई प्रधानमन्त्री ओलीले दिएको जवाफ यस्तो छ

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ । तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन । तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।