
काठमाडौं । बैंकको ऋण नतिरेपछि काठमाडौंको सितापाइलामा रहेको पद्मा कोलोनीलाई सांग्रिला डेभलपमेन्ट बैंकले सूचना निकालेको छ ।
कोलोनीले बैंकबाट लगेको ऋणको साँवा ब्याज नियमित रुपमा नतिरेपछि बैंकले ३५ दिने सूचना जारी गर्दै लिलामी प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।
कोलोनीका एकल सेयरधनी राजुप्रसाद कँडेलको नाममा सोमबार सूचना निकाल्दै बैंकले तिनुपर्ने ऋणको साँवा ब्याज, हर्जना ब्याज तथा अन्य दस्तुर सबै बुझाउन ताकेता गरेको हो ।
बैंकले सूचना जारी गरेको ३५ दिनभित्रमा ऋण चुक्ता नगरे प्रचलित कानुन बमोजिम ऋणी र जमानीकर्ताको चलअचल सम्पत्ति असुल गरी कालोसूचीमा राखिने चेतावनी दिएको छ । पद्मा कोलोनीले सीतापाइलासहित ललितपुरको कुसुन्ती, नागार्जुन नगरपालिका रामकोट र टौखेल नागार्जुनमा हाउजिङ बनाएको छ ।
यसअघि गत असार १६ गते विशेष अदालतले पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक राजु कँडेललाई पनि ८ वर्ष कैद सजाय तोकेको थियो । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतसहित उनलाई दोषी ठहर गरेको थियो ।
अख्तियारको अभियोगअनुसार बस्नेतले नगरपालिकाको नीतिगत निर्णय प्रयोग गरेर जग्गा प्लटिङमा अनुचित लाभ लिई ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएका थिए । सो मुद्दामा उनलाई ८ वर्ष कैद र २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसा जरिवाना गरिएको छ ।
बस्नेतले शुद्धीकरण गरेको ठहर गरिएको १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा सम्पत्तिका लागि मनी लाउन्डरिङ ऐन, २०६४ अनुसार उनलाई ३ वर्ष कैद र बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ६६ पैसा जरिवाना गरिएको हो ।
राष्ट्रसेवकको हैसियतले कसुर गरेकाले उनीमाथि सोही ऐनको उपदफा ७ अनुसार थप ३ महिना १८ दिन कैद र २ करोड ६२ लाख ५४ हजार ६०० रुपैयाँ ४६ पैसा जरिवाना थप गरिएको अदालतले जनाएको छ ।
न्यायालयले बस्नेतले अवैध रुपमा आर्जन गरेका सम्पत्ति जफत गर्ने आदेश पनि दिएको छ। साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम बस्नेतले १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा पीडित राहत कोषमा क्षतिपूर्ति स्वरूप जम्मा गर्नुपर्ने भएको छ ।
उक्त घुस प्रकरणमा संलग्न पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक राजु कँडेललाई पनि ८ वर्ष कैद सजाय सुनाइएको छ । उनले ९ लाख २२ हजार ४६० रुपैयाँ ३२ पैसा पीडित राहत कोषमा जम्मा गर्नु पर्नेछ । कँडेल र उनका कम्पनीहरूलाई पनि बस्नेतसँगै २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ बिगो भराउने फैसला गरिएको छ । कँडेल मिडिया सञ्चालकसमेत हुन् । पद्मा मिडिया प्रालि अन्तर्गत माउन्टेन टिभी लगायत रहेका छन् ।








प्रतिक्रिया