
रसुवा । आगामी केही दिन रसुवामा भारी वर्षा भई नदीहरूको बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले आइतबार सूचना जारी गर्दै विपद्को सम्भावना प्रति सतर्क रहन आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार मौसम पूर्वानुमान गर्ने निकाय र चिनियाँ पक्षबाट प्राप्त सूचनाका आधारमा आगामी दिनमा क्षेत्रीय रूपमा जोखिम बढ्न सक्ने देखिएको छ ।
‘चिनियाँ पक्ष र जल तथा मौसम विज्ञान विभागबाट प्राप्त सूचनाअनुसार आगामी केही दिन यहाँ भारी वर्षाको सम्भावना रहेको र त्यसले नदीको बहावमा तीव्रता आउन सक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन भनिएको छ,’ प्रशासनले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
प्रशासनले भोटेकोशी, त्रिशुली, लाङटाङ, चिलिमे लगायतका नदी तथा खोलामा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । नदी किनाराका बस्ती, कार्यालय र पूर्वाधारमा रहनेलाई पूर्वतयारीमा जुट्न र सम्भावित जोखिम न्यूनीकरणका उपायमा लाग्न आग्रह गरिएको छ ।
यसअघि असार २४ गते बिहान ३ बजे आएको बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको थियो। उक्त बाढीमा २० जना बेपत्ता भएका थिए । केही व्यक्तिको शव फेला परेपनि अन्यको खोजी कार्य अझै जारी रहेको प्रशासनले जनाएको छ ।










प्रतिक्रिया