यस्तो छ बालेनले सार्वजनिक गरेको महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ)


काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार महानगरपालिकाको नगर सभामा मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रम समावेशी विकास, सुशासन, सेवा प्रवाह, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, वातावरण र सांस्कृतिक संरक्षणमा केन्द्रित छन् ।

कार्यक्रमको सुरुवातमै मेयर शाहले अघिल्लो वर्षका नीति र बजेट कार्यान्वयनको समीक्षा गर्दै नयाँ वर्षको नीति समकालीन आवश्यकता, काठमाडौंको ऐतिहासिक-सांस्कृतिक पहिचान र नागरिकको अपेक्षालाई समेटेर ल्याइएको बताए ।

स्मार्ट र समावेशी सहर निर्माणको दीर्घकालीन लक्ष्यसहित डिजिटल सेवा प्रणाली, स्मार्ट सडक, खुला चोक, स्मार्ट लाइट र सेवा ट्र्याकिङ प्रणाली विकास गरिने नीति तथा कार्यक्रममा जनाइएको छ ।।

स्थानीय उत्पादन र रोजगारी प्रवर्द्धन गर्न एक वडा एक उत्पादन नीति, इनक्युबेसन सेन्टर, उद्यमशीलता अनुदान र सहकारी सुधार कार्यक्रम निरन्तरता दिइने उल्लेख गरिएको छ ।

शिक्षा र बाल अधिकारका लागि सामुदायिक विद्यालयमा स्पोर्ट्स एकेडेमी, डिजिटल कक्षा, एसटीईएम शिक्षा, अपांगता मैत्री पूर्वाधार र प्रत्येक विद्यालयमा ईसीडी केन्द्र स्थापना गरिने शाहले बताए ।

स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न ‘स्वस्थ्य सहर’ अभियान, मानसिक स्वास्थ्य, पोषण, आयुर्वेद र रोकथाममुखी कार्यक्रमहरू लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा डिजिटल प्रविधिको प्रयोग, हेरिटेज अनुभव, रात्रीकालीन पर्यटन र सामुदायिक सहभागिता बढाइने उल्लेख गरिएको छ ।

फोहोरमैला व्यवस्थापनमा जिरो वेस्ट सीटी अवधारणा लागू गर्दै स्रोतमै छुट्याउने, सामुदायिक पुन: प्रयोग केन्द्र, वेस्ट टु इनर्जी र जनसचेतनामूलक अभियान सञ्चालन गरिने लगायतका विषय नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।