
काठमाडौं । शिवम् सिमेन्टको सहायक कम्पनीको समेत लगानी रहेको होङ्सी शिवम् सिमेन्टले बैंकको दीर्घकलिन ऋण चुक्ता गरेको छ । कम्पनीले दीर्घकालीन ऋण चुक्ता गरेसँगै कारोबारमा अपेक्षित सुधार नदेखिए पनि सञ्चालन आम्दानीमा सञ्चालन नाफाको प्रतिशतमा पनि सुधार देखिएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा सवा ९ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ९ अर्ब २५ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।
सन् २०२४ मा ११ अर्ब ९२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा १३ अर्ब ८१ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा १७ अर्ब ४ करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा १७ अर्ब ४५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०१५ मा स्थापना भएको कम्पनीले क्लिङ्कर र सिमेन्ट उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । ७० प्रतिशत चिनियाँ लगानी र ३० प्रतिशत शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङको लगानी छ ।
उत्पादन क्ष्मताका आधारमा कम्पनीमा नेपालकै ठुलो प्लान्ट छ । कम्पनीसँग वार्षिक २० लाख मेट्रिक टन क्लिङ्कर तथा २३ लाख टन ग्रान्डिङ सिमेन्ट उत्पादन क्षमता छ । नवलपरासी जिल्लामा उद्योग रहेको कम्पनीले ओपीसी र पीपीसी मिसेन्ट उत्पादन गरी होङ्सी ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
दीर्घकालीन ऋण चुक्ता भइसकेको कारण कम्पनीको वित्तीय दायित्वमा कमी भएर सञ्चालन नाफा पनि बढ्दै गएको छ । २०२१ मा सञ्चालन आम्दानीको २७ प्रतिशत सञ्चालन नाफा रहेकोमा २०२२ मा १५ प्रतिशत र २०२३ मा ९ प्रतिशतमा झरेको थियो ।
सन् २०२४ मा बढेर सञ्चालन आम्दानीको १७ प्रतिशत सञ्चालन मुनाफा पुर्याएको कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा सञ्चालन आम्दानीको २३ प्रतिशत सञ्चालन नाफा आर्जन गरेको छ ।
सन् २०२२ र २०२३ मा नाफा घटे पनि उच्च लाभांश दिएको कारण अझै पनि कम्पनी नगद प्रवाहको केही दवावमा देखिन्छ । सञ्चिति नाफाबाट आर्थिक वर्ष २०२२ र २०२३ को नाफाको ३०७ प्रतिशत लाभांश घोषणा गरेको र उक्त लाभांश अझै पनि भुक्तानी हुन बाँकी रहेकोले नगद प्रवाहमा केही समस्या रहेको कम्पनीले जनाएको छ ।
जसको कारण कम्पनीले चालु पुँजी कर्जाको साइकल मध्यम देखिँदै आएको जनाएको छ । तर, दीर्घकलीन ऋण चुक्ता गरेकोले नगद प्रवाहमा केही सहजता देखिने विश्वास रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले अल्पकालीन कर्जाका लागि ६ अर्ब रुपैयाँको रेटिङ गराएको छ ।
नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगको रुपमा स्थापित रहेको कम्पनीले सन् २०२४ मा सिमेन्ट उद्योगहरुमध्ये सबैभन्दा बढी व्यापार गरेको जनाएको छ । त्यस्तै कम्पनीको व्यापार सन् २०२४ को ९ महिनाको तुलनामा सन् २०२५ को सोही अवधिमा २३ प्रतिशतले व्यापार बढेको उल्लेख गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा सवा ९ अर्ब रुपैयाँको व्यापार गर्दा क्लिङ्करमा ९६ प्रतिशत आम्दानी १० ठूला ग्राहकबाट र सिमेन्टमा र २७ प्रतिशत आम्दानी १० ठुला ग्राहकबाट गरेको छ । यसले कम्पनीमा ग्राहक केन्द्रित जोखिम उच्च रहेको देखाएको छ ।
यस्तै सिमेन्ट उद्योगमा देखिएको अत्याधिक प्रतिस्पर्धा सुस्त आर्थिक र निर्माण गतिविधिले मागमा थप दबाब सिर्जना गरिरहेको छ ।
कम्पनीअनुसार चालु आवमा क्लिङ्करको व्यापारमा कमी आएको छ । सन् २०२१ मा ६५ प्रतिशत क्लिङ्करको बजार हिस्सा रहेकोमा चालु आवमा १३ प्रतिशत कायम भएको कम्पनीको भनाइ छ । बजारमा सिमेन्ट क्षेत्रमा उच्च प्रतिस्पर्धा हुँदा व्यापारमा प्रभाव परेको रेटिङमा उल्लेख गरेको छ ।







प्रतिक्रिया