
काठमाडौं । सिद्धार्थ बैंकले आइतबारदेखि ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गरेको छ। इच्छुक लगानीकर्ताले आजैदेखि आवेदन दिन सक्नेछन् ।
१० वर्षे अवधिको यो ऋणपत्र कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको हो । जसमा १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारण तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्ता खरिद गर्नुपर्नेछ ।
उक्त ऋणपत्रमा वार्षिक ७.२५ प्रतिशत ब्याजदर रहेको छ, जुन हाल बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको औसत ब्याजदर (६ प्रतिशतसम्म) भन्दा उच्च हो ।
सार्वजनिक निष्कासनका लागि आवेदन असार ३२ गतेसम्म दिन सकिनेछ । सो अवधिमा पूर्ण रूपमा बिक्री नभएमा आवेदन साउन ११ गतेसम्म खुला रहनेछ । बिक्री प्रबन्धकको रूपमा एनएमबी क्यापिटल रहेको छ ।
ऋणपत्रलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ‘बीबीबी प्लस’ को रेटिङ प्रदान गरेको छ । उक्त ऋणपत्र दोस्रो बजारमा कारोबार योग्य हुनेछ, साथै अन्य बैंकहरूमा धितो राखेर ऋण सुविधा पनि लिन सकिनेछ ।








प्रतिक्रिया