सार्वजनिक स्थानमा देखिएनन् चिनियाँ राष्ट्रपति सी: सत्ताच्युत हुन लागेका हुन् ?

4.4k
Shares

एजेन्सी । चीनका राष्ट्रपति सी चिनपिङ विगत केही दिनदेखि सार्वजनिक स्थानमा नदेखिएपछि विभिन्न किसिमका अनुमानहरू भइरहेका छन् ।

भारतीय र पश्चिमी सञ्चारमाध्यमहरूमा राष्ट्रपति सी सत्ताच्युत हुन लागेको समाचारहरू आइरहेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका बारेमा बाहिरी विश्वले पूर्णसूचना पाउनै सक्दैन।

आधिकारिक रूपमा एकदमै कम सूचनाहरू बाहिर आउँछन् । त्यसैले पार्टीका विषयमा अनेकौं हल्ला फैलिरहेका हुन्छन् ।

यस्ता किसिमका हल्लाहरू विगत १३ वर्षमा सीको शासनकालभरि चल्दै आएका छन् । तर, प्रत्येकपटक ती हल्लाहरू गलत साबित भएका थिए । अहिलेको हल्लामा पनि दम नभएको देखिन्छ ।

यसो भन्दै गर्दा बेइजिङमा अनौठा गतिविधिहरू भइरहेको पनि सत्य हो । सन् २०२२ मा सीले तेस्रो कार्यकाल सुरु गरेपछि आफैंले नियुक्त गरेका अधिकारीहरूलाई बर्खास्त गरेका छन् । त्यसले चिनियाँ कम्युनिस्ट पार्टीमा शक्तिसंघर्षको संकेत गरेको छ ।

पूर्व राष्ट्रपति हु चिन्ताओका समर्थकहरूसँग सीका समर्थकहरूको संघर्ष चलिरहेको कतिपयले अनुमान गरेका छन् । करिब ३ वर्षअघि पार्टीको २०औं महाधिवेशनमा हुलाई अनपेक्षित रूपमा ग्रेट हल अफ द पिपुलबाट निकालिएको थियो । त्यतिखेर चिनियाँ सञ्चारमाध्यमहरूले हु बिरामी भएकाले गर्दा बाहिर लगिएको लेखेका थिए । तर, त्यसको भिडियो फूटेज हेर्दा हुले आफ्ना कागजात लिन खोजेको अनि सीले मुन्टो फर्काएर अर्कैतिर हेरेको देखिन्छ । अर्थात्, सीकै आदेशमा हुलाई निकालिएको जस्तो देखिन्छ ।

हुको त्यो अपमानको बदला लिन उनका समर्थकहरूले कोसिस गरेको अनुमान गरिएको छ । हु खेमाले समर्थन गरेका सैन्य अधिकृत चाङ युसियाले शक्तिको अभ्यास गरिरहेको दाबी समेत भइरहेका छन् ।

त्यससँगै सुधारवादी वाङ याङलाई सीको सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको छ । उनका समर्थकहरूले पनि शक्तिसंघर्ष गरिरहेको बताइन्छ ।

सेनाका उच्च अधिकृतहरूलाई पनि सीले धमाधम हटाएका छन् । सन् २०२३ देखि सेन्ट्रल मिलिटरी कमिशनका उपाध्यक्ष जरल ह वेदोङ, राजनीतिक कार्य प्रमुख जनरल मियाओ ह्वा र ईस्ट थिएटर कमान्डका कमान्डर जनरल लिन स्याङयाङलाई पनि हटाइएको बताइएको छ ।

यसले सेनामा सीको नियन्त्रण गुमिरहेको हो कि भन्ने आशंका बढाएको छ । तर, यसलाई सीले आफ्नो शक्ति झन् बढाएको र सीभन्दा मुनिका अधिकारीहरूको संघर्षले उनलाई कुनै फरक नपार्ने पनि अन्य कतिपयको भनाइ छ ।

यति होहल्ला हुँदा पनि एउटा प्रश्नको उत्तर कसैले पनि दिन सकेको छैन । चिनियाँ कम्युनिस्ट पार्टीको प्रत्येक विभागमा सर्वेसर्वा प्रभुत्व कायम गरेका सी जस्ता नेतालाई कसैले हटाउन सक्छ र ? पार्टीको पोलिटब्यूरो स्थायी समितिका सबै सात सदस्यहरू लामो समयदेखि सीका साझेदार रहिआएका छन् । त्यस्तै पोलिटब्यूरोका २४ सदस्यमध्ये आधाभन्दा बढी उनका चेला नै हुन् । अन्य सबै सदस्यले पनि त्यहाँ नियुक्त हुनुअघि सीसँग निकट सम्बन्ध राखेका थिए ।

सीलाई हटाउन खोज्ने भनिएको समूहका नेता पार्टीको उच्च तहमा छैनन् । यस्ता प्रभावहीन व्यक्तिहरूले सी जस्ता चतुर राजनीतिक खेलाडीलाई पछार्लान् भनी कल्पना गर्न सकिन्न ।

त्यसमाथि विगत केही समययता सीले पार्टीलाई लज्जास्पद स्थितिमा लैजाने किसिमको भयंकर त्रुटि गरेका छैनन् । हुन त सीले बनाएको कोभिड–१९ नियन्त्रण रणनीतिमाथि सन् २०२२ मा विरोध चर्किएको थियो । लकडाउन कायम गरिरहँदा आर्थिक गतिविधि घट्नुका साथै सामाजिक स्थिरता जोखिममा परेको थियो । प्रान्तीय सरकारहरूमा ऋणको भारी थुप्रिएको थियो । त्यसले सीलाई अप्ठ्यारोमा पार्ने अनुमान गरिएको थियो ।

तर, त्यतिखेर सीलाई दण्डित गर्नुको साटो पार्टीले तेस्रो कार्यकाल चलाउने र नियन्त्रण थप बलियो बनाउने अनुमति दिएको थियो ।

सीको कार्यकालमा अनेकौं भूराजनीतिक तनावहरू चर्किएको भए पनि चिनियाँ कम्युनिस्ट पार्टीले उनलाई सफल राजनेताका रूपमा हेरेको छ । चीनलाई महाशक्ति राष्ट्रका रूपमा उभ्याउन र चिनियाँ जनतामाझ पार्टीको पकड थप मजबुत बनाउन सीको सशक्त नेतृत्व जिम्मेवार रहेको बुझाइ पार्टी नेताहरूमा रहेको बताइन्छ ।

उनले अर्थतन्त्रलाई व्यवस्थापन गर्न नसकेको र अमेरिकासँगको सम्बन्ध चिस्याएको भनी आलोचना भए पनि उनलाई हटाउँदा अमेरिकाले लगाएको चर्को आयातकर हट्ने वा विश्व राजनीतिमा चीनको स्थितिमा सुधार आउने भनी चिनियाँहरूले विश्वास गरेका छैनन् । पछिल्लो व्यापारयुद्धमा दह्रो अडान लिएर सीले वाशिङटनलाई सम्झौता वार्ताका लागि बाध्य बनाएको भनी प्रशंसा गरिएको छ ।

सेन्ट्रल मिलिटरी कमिशनका उपाध्यक्ष तथा सीका पुराना साझेदार चाङ युसियाले सीलाई कूमार्फत हटाउने षड्यन्त्र गरिरहेको कतिपय समाचारमा उल्लेख गरिएको छ । तर, यस्ता समाचार विदेशमा बसिरहेका अनि चिनियाँ कम्युनिस्ट पार्टीको विरोध गर्ने चिनियाँहरूले दिएका हुन् । तिनको विश्वसनीयतामा पहिला पनि प्रश्न उठ्ने गरेको थियो ।

चाङले सीका विरुद्ध कदम चाल्नुपर्ने के बाध्यता छ भन्ने विषयमा उनीहरूले तार्किक कारण दिन सकेका छैनन् । चाङ उमेरहदका कारण रिटायर हुनुपर्ने भए पनि सीले सन् २०२२ मा उनलाई पदमा कायम राखेका थिए । उनले आफ्ना प्रिय नेताका विरुद्ध जानुपर्ने कुनै कारण भेटिँदैन ।

सीको पतन हुन लागेको भाष्य निर्माण गर्नमा विभिन्न घटनाक्रमहरूलाई आधार बनाइएको छ । यसै साता ब्राजिलमा भएको ब्रिक्स शिखर सम्मेलनमा सीको अनुपस्थितिलाई आलोचकहरूले उल्लेख गरेका छन् । तर, सन् २०२५ मा सीले तीनपटक विदेशयात्रा गरिसकेको तथ्यलाई उनीहरू बेवास्ता गर्छन् । त्यससँगै उनले बेइजिङमा विभिन्न देशका नेताहरूलाई स्वागत गरिरहेका छन् ।

सीलाई पर्याप्त सम्मानका साथ उल्लेख नगरिएका भनिएका चिनियाँ सरकारी सञ्चारमाध्यमका समाचारलाई कतिपयले हल्लाको आधार बनाउने गरेका छन् । तर, चीनका सबै सरकारी सामग्रीहरूमा उनको केन्द्रीय भूमिकालाई जोड दिने गरिएको कुरामा ध्यान दिनुपर्छ । सञ्चारमाध्यममा सीको उपस्थिति घटेको भनिए पनि चाइना मिडिया प्रोजेक्टले केही दिन अघि प्रकाशित गरेको अध्ययनमा सीको स्थानमा वरिष्ठ नेताहरूलाई महत्त्व दिइएको पाइएन ।

सीको पद धरापमा परेको हुन्थ्यो भने चीनमा राजनीतिक अस्थिरताको संकेतहरू देखिन्थे होलान् । अहिले चीन स्थिर नै देखिन्छ । सीले ह वेदोङलाई हटाएको विश्वास गरिएको छ तर उनी सीका भित्रिया मानिँदैनन् । सीका निकटतम साझेदारहरू चाइ छी वा तिङ स्वेस्याङलाई निशाना बनाइएको भए चाहिँ सी समस्यामा छन् भन्ने सन्देश पाइन्थ्यो ।

विगत केही वर्षयता जुलाईदेखि सेप्टेम्बरसम्म सीले शक्तिमा पकड गुमाउँदै गएको भनी हल्ला चल्दै आएका छन् । तर, प्रत्येकपटक उनी सार्वजनिक स्थानमा देखिएपछि उनको राजनीतिक पकड कायमै रहेको स्पष्ट भएको थियो ।

राष्ट्रपति बन्नुभन्दा एक वर्षअघि सन् २०१२ मा सी हराएका थिए । कोभिड–१९ महामारीको समयमा पनि उनी सार्वजनिक स्थानमा नदेखिँदा हल्ला फैलिएको थियो । कठोर लकडाउनका विरुद्ध प्रदर्शनहरू भएका थिए तर त्यसले खासै राजनीतिक परिवर्तन ल्याएन । चिनियाँ कम्युनिस्ट पार्टीभित्र सीविरोधी बलियो खेमा हुन्थ्यो वा उनकै उचाइको जस्तो अर्को नेता हुन्थ्यो र त्यो नेताले पार्टीको अभिमत नै बदल्न सक्थ्यो भने मात्र राजनीतिक परिवर्तन सम्भव हुन्छ ।

बेलायतबाट प्रकाशित हुने द टेलिग्राफमा केरी ब्राउन नामक पूर्व कूटनीतिकर्मीले द फेडिङ पावर अफ सी चिनपिङ नामक लेख हालसालै प्रकाशन गरेका छन् । त्यसमा उनले सत्तापरिवर्तनको संकेत दिने विभिन्न प्रश्न गरेका छन् । शीर्ष नेताहरूले सीको भन्दा फरक कुरा गरिरहेका छन् त ? प्रान्तका कुनै नेताले स्वायत्त रूपमा गतिविधिहरू गरिरहेका छन् त ? सरकारभन्दा फरक धारणा सैन्य नेतृत्वले अभिव्यक्त गरिरहेको छ त ? अहिले चिनियाँ कम्युनिस्ट पार्टीमा यो कुनै पनि कुरा देखिँदैन ।

तेस्रोपटक कार्यकाल चलाउने गरी सन् २०२२ मा सी चिनपिङ चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव निर्वाचित भएका थिए । त्यो चीनको सर्वोच्च राजनीतिक पद हो।

सी सन् २०२७ सम्म पदमा रहनेछन् र उनले आफ्नो कार्यकालमा शक्ति पूरै केन्द्रीकृत गरेका छन् । त्यसैले उनका विरुद्ध कोही उभिएको होला भनी कल्पना गर्न सकिँदैन ।

दुई शीर्ष सैन्य अधिकृतलाई हटाएपछि सीको विषयमा हल्ला चल्न थालेको हो । त्यसले केही आन्तरिक समस्यातर्फ इंगित गरेको पक्का हो । जस्तो, सेनाको उच्च तहमा भ्रष्टाचार व्याप्त रहेको यसले देखाएको छ । तर सीले शीर्ष सैन्य अधिकृतलाई हटाएर अझै पनि शक्ति आफ्नै हातमा रहेको स्पष्ट संकेत दिएका छन् ।