मुद्रास्फीतिबारे बजेट र मौद्रिक नीतिको लक्ष्य बाझियो

182
Shares

काठमाडौं । बजेट र मौद्रिक नीतिले मुद्रास्फीतिबारे अलगअलग लक्ष्य राखेका छन् । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुद्रास्फीतिलाई ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेकामा मौद्रिक नीति जारी गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले मुद्रास्फीतिलाई ५.० प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएका हुन् ।

बजेटले तय गरेको आर्थिक वृद्धिको लक्ष्य र मुद्रास्फीतिको सीमालाई हासिल गर्न मौद्रिक नीतिले आवश्यक प्रबन्ध गर्छ । तर, मौद्रिक नीतिलाई वित्त नीतिको पूरक नीतिका रुपमा परिभाषित गर्ने गभर्नर पौडेलले मुद्रास्फीतिमा फरक लक्ष्य लिएका हुन् ।

तोकेको आर्थिक गतिविधि हासिल हुन तथा निजी क्षेत्रलाई प्रोत्साहन दिन मुद्रास्फीति केही बढी हुन आवश्यक हुन्छ । चालु आर्थिक वर्षमै मुद्रास्फीति ३ प्रतिशतभन्दा कम रहेकामा गभर्नर पौडेलले आगामी आर्थिक वर्षका लागि सानो सीमा राखेका हुन्।

आर्थिक वर्ष २०८२/८३ मा ५.० प्रतिशतको हाराहारीमा मुद्रास्फीति र कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्दै नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेख भएबमोजिम ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न मौद्रिक तरलता र विदेशी विनिमय व्यवस्थापन गरिने उनको भनाइ छ ।

जसका लागि विस्तृत मुद्रा प्रदायको वृद्धिदर १३.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२.० प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ ।