
पोखरा । लगातार वर्षासँगै बाढी, पहिरोको जोखिम बढेपछि कास्की जिल्लामा अत्यावश्यक बाहेकका यात्रुबाहक सवारी साधनको सञ्चालनमा समयसीमा तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा असार २३ गते बसेको सरोकारवालाहरूको बैठकको निर्णय अनुसार सवारी आवागमनमा आंशिक प्रतिबन्ध लगाएको हो ।
निर्णय अनुसार, मनसुनजन्य जोखिम न्यूनीकरण तथा यात्रु सुरक्षा सुनिश्चित गर्न असार २५ गतेदेखि लागू हुने गरी आगामी १५ दिनसम्मका लागि विभिन्न रुटमा तोकिएको समयपछि सवारी छुट्न नपाउने व्यवस्था गरिएको छ।
प्रशासनले जारी गरेको सूचनामा भनिएको छः
विरेठाँटी–घान्द्रुक, विरेठाँटी–उल्लेरी र लुम्ले–लान्द्रुक जाने सवारी साधनहरूले साँझ ५:०० बजेभित्र प्रस्थान गर्नुपर्नेछ।
यस्तै, घान्द्रुक–विरेठाँटी, उल्लेरी–विरेठाँटी र लान्द्रुक–लुम्ले फर्कने सवारी साधनले बिहान ५:०० बजेपछि मात्र यात्रा सुरु गर्न पाउने छन्।
त्यसैगरी, काँहुखोला–तातिङ जाने सवारीले साँझ ४:३० बजेभित्र गन्तव्यतर्फ छुटिसक्नुपर्नेछ भने तातिङ–काँहुखोला फर्कने सवारी बिहान ५:०० बजेपछि मात्र छुट्न पाउनेछन्।
जिल्ला प्रशासनले यात्रु वर्गमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै सबैमा सतर्कता अपनाउन आग्रह गरेको छ।
स्थानीय तहका प्रमुख, सुरक्षा निकाय, यातायात व्यवसायी र सरोकारवाला निकायका सहभागितामा गरिएको निर्णयले यात्रु सुरक्षालाई प्राथमिकता दिएको जनाइएको छ।








प्रतिक्रिया