पारिजातको उपन्यास ‘शिरीषको फूल’ रंगमञ्चमा प्रदर्शन हुने, मुख्य भूमिकामा सनिसा


काठमाडौं । प्रसिद्ध साहित्यकार पारिजातको उपन्यास शिरीषको फूलको नाटकघरमा मञ्चन गरिने भएको छ । कान्तिपुर फिल्म एकेडेमीले प्रख्यात उपन्यासमा आधारित नाटक मञ्चन गर्ने तयारी गरिरहेको छ ।

नाटकमा सकम्बरीको मुख्य भूमिकामा अभिनेत्री सनिसा भट्टराई छिन् । भट्टराईले नेपाली चलचित्र नरसिम्हा र १२ गाउँमा अभिनयकला देखाइसकेकी छन् ।

कान्तिपुर फिल्म एकेडेमीका निर्देशक पत्रिका घिमिरेले शिरीषको फूल जस्तो सर्वकालीन महान् उपन्यासको नाट्य रूपान्तरण गर्न पाउनु आफूहरूका लागि गौरवको कुरा भएको बताइन् । घिमिरे यस नाटककी निर्देशक हुन् ।

‘पारिजातको शिरीषको फूल उपन्यास नेपाली समाजका गहिरा संवेदनाहरुलाई उजागर गर्ने अद्भुत कृति हो,’ घिमिरेले भनिन्, ‘यसलाई नाटकका रूपमा मञ्चन गर्न पाउँदा हामी गौरवान्वित छौं ।’

१२ गाउँ र नरसिंहा जस्ता सफल चलचित्रमा भट्टराईको जीवन्त अभिनय रहेको र उनी जस्तो प्रतिभाशाली कलाकारले प्रमुख भूमिका खेल्दा नाटक अझ प्रभावकारी बन्ने घिमिरेले बताइन् ।

नाटकमा सनिसा भट्टराईसँगै जीवन लुइँटेलको अभिनय रहनेछ । उनले सुयोगवीरको भूमिका निर्वाह गर्नेछन् ।

लुइँटेल नेपाली चलचित्र क्षेत्रको परिचित नाम हो । हाल अमेरिकामा बसोवास गर्दै आएका उनले दर्जनौं सफल चलचित्रमा अभिनय गरेका छन् ।

सानै उमेरमा परिपक्व साहित्यप्रति झुकाव राख्ने घिमिरेले पारिजातलाई आफ्नो साहित्यजननीको रूपमा मान्ने गरेकी छन् । शिरीषको फूल नाटक पारिजातप्रतिको श्रद्धासुमनका रूपमा लिएको उनको भनाइ छ ।

घिमिरेले नाटकहरूमा अभिनयको अनुभव बटुलिसकेकी छन् । उनी कविता पनि लेख्छिन् । उनले बनाएका लघु चलचित्रहरू देशविदेशमा प्रदर्शन भएका छन् ।

नाटकले उपन्यासमा देखाइएका सामाजिक विसंगति, मानवीय संवेदनशीलता र अस्तित्व चिन्तनलाई रंगमञ्चमा उतार्ने अपेक्षा गरिएको छ । नाटकको मञ्चन मिति र स्थानबारे छिट्टै घोषणा गरिने बताइएको छ ।