
काठमाडौं । बाह्रसिङ्गे ब्राण्डमा बियर उत्पादन गर्ने याक ब्रुयिङ कम्पनीले चालु आर्थिक वर्षको १० महिनामा साढे १ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ ।
कम्पनीले चालु आवको १० महिनाको अवधिमा १ अर्ब ६७ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब २७ करोड ४० लाख, सन् २०२३ मा ९२ करोड ७० लाख र सन् २०२२ मा ९७ करोड २० लाखको व्यापार गरेको थियो । कम्पनीको व्यापार सन् २०२४ मा ४४ प्रतिशतले बढेको छ । त्यस्तै कम्पनीले चालु आवमा ३.०१ प्रतिशत खुद नाफा कमाएको छ ।
पछिल्लो ३ वर्षमा २० प्रतिशतको हाराहारीमा रहेको सञ्चालन नाफा यो वर्ष भने करिब १५ प्रतिशतमा सीमित देखिएको छ । बिक्री बढी हुँदा बोतलको लागत बढ्न गइ सञ्चालन नाफमा कमी आएको कम्पनीले जनाएको छ ।
सन् २०२३ मा स्थापना भएको कम्पनीले सन् २०१६ बाट व्यवसायिक कारोबार सुरु गरेको थियो । कुरिन्टारमा ६.५ हेक्टर क्षेत्रफलमा फैलिएको उद्योग त्रिशुली नजिकै रहेको छ । कम्पनीले विशेषगरी त्रिशुली जाने पर्यटहकहरुमा लागि फ्रेस बियरको स्वाद दिलाउँदै आएको जनाएको छ । कम्पनीको मुख्य विशेषता भनेको पर्यटकका लागि बियर अफ गार्डेनको सेवा दिनु रहेको छ ।
कम्पनीसँग वार्षिक ३ लाख ६० हजार हेक्टोलिटर बियर उत्पादन क्षमता रहेकोमा हाल वार्षिक २ लाख ४० हजार हेक्टोलिटर उत्पादन गर्दै आएको रेटिङमा उल्लेख छ ।
अभिषेक श्रेष्ठको ४२.५० प्रतिशत, रवि केसीको ३७.५० प्रतिशत, मिनराज भुसालको १५ प्रतिशत र मुस्कान श्रेष्ठको ५ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ३५ करोड ६५ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८३ करोड १२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ५२ करोड ५३ लाख रुपैयाँको रेटिङ गराएको छ ।







प्रतिक्रिया