भारतले बीआईएसका नाममा निर्यात रोक्दा गोल्डस्टार जुत्ताको व्यापार घट्यो, ६ महिनामा कतिको कारोबार ?

2.6k
Shares

काठामाडौं । गोल्डस्टार ब्रान्डको जुत्ता उत्पादन गरि बेच्ने किरण सुज म्यानुफ्याक्चरर प्रालिले चालु आर्थिक वर्षको ६ महिनामा साढे ७९ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आवको ६ महिनामा ७९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा २ अर्ब २२ करोड ८० लाख, सन् २०२३ मा २ अर्ब १५ करोड ४० लाख र सन् २०२२ मा २ अर्ब ४२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार चालु आर्थिक वर्षमा भने घटेको पाइएको छ ।

कम्पनीकाअनुसार चालु आवमा व्यापार घट्नुको मुख्य कारण निर्यातमा आएको कमी हो ।

गोल्डस्टार प्रमुख निर्यात बजार भारतले बीआईएस प्रमाणपत्र अनिवार्य गरेपछि करिब ३/४ महिनाका लागि निर्यातमा अस्थायी रोक लगाउनु परेको र त्यसले गर्दा व्यापारमा कमी आएको कम्पनीले जनाएको छ । यद्यपि, अप्रिलसम्ममा १ अर्ब २९ करोड ७० लाख रुपैयाँको अर्डर भइसकेको हुनाले चालु आवसम्ममा उक्त अर्डर आपूर्ति हुँदा यस आर्थिक वर्षको अन्तिममा मध्यमस्तरको आम्दानी प्राप्त हुने अनुमान गरिएको छ ।

कम्पनीका अनुसार पछिल्लो ३ वर्षमा सञ्चालन नाफा(प्रोफिट मार्जिन) मा उल्लेख्य सुधार आएको छ । २०२२ मा १२.४८ रहेको नाफा मार्जिन २०२३ मा १८.९९, २०२४ मा २२.१० र २०२५ को ६ महिनामा २२.४४ प्रतिशत पुगेको छ । यो सुधारको मुख्य कारण कच्चा पदार्थको मूल्य घट्नु र कम्पनीले खर्च व्यवस्थापनमा गरेको सुधार भएको कम्पनीले जनाएको छ ।

कच्चा पदार्थको लागत सञ्चालन आम्दानीको ७० देखि ८० प्रतिशत हुने गरेको छ । कच्चा पदार्थमा आउने उतार चढावले कम्पनीको नाफामा ठूलो असर गर्ने गरेको छ ।

सन् १९७० को दशकमा दर्ता भएको कम्पनीले विभिन्न प्रकारका जुत्ता उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले वार्षिक १ करोड ६६ लाख ५० हजार जोडी जुत्ता उत्पादन गर्दै आएको छ । कम्पनीले तीन वटा स्थानबाट उत्पादन गरिरहेको छ । कम्पनीअनुसार चप्पलकारखाना, बालाजु र भैरहवाबाट उत्पादन गरी व्यापार गर्दै आएको छ । तर पछिल्लो ४ वर्षमा औषतमा २९ प्रतिशत मात्र जुत्ता उत्पादन क्षमता उपयोऊ भइरहेको छ ।

युनिभर्सल ग्रुपद्वारा सञ्चालित कम्पनीमा अमिरप्रताप जंगबहादुर राणाको २८ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीको नेतृत्व कार्यकारी निर्देशक विदुषी राणाले गर्दै आएकी छन् ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले आन्तरिक बजारमा मात्रै नभएर विदेशमा पनि आफ्नो उत्पादनको व्यापार गर्दै आएको छ ।

कम्पनीले उत्पादन गरेको ब्रान्डको जुत्ता नेपालमा निकै रुचाइएको र प्रख्यात रहेको छ । कम्पनीले पीयु, पीभीसी र जी टेन जुत्ता र चप्पल उत्पादन गर्दै आएको छ । कम्पनीको देशभर ६० वटा डिलर छन् भने भारतको फरिदावादसँग सम्झौता गरेर वितरणको काम गरिरहेको छ ।