पुटिनलाई युक्रेन युद्धबाट रोक्नका लागि ट्रम्पले दिएका थिए मस्कोमा बम खसाइदिने धम्की


एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई मस्कोमा बम खसाइदिने धम्की दिएको रहस्य खुलेको छ ।

सीएनएनले प्राप्त गरेको एक अडियोमा ट्रम्पले उक्त धम्की दिएको सुनिन्छ ।

पोहोर साल ट्रम्पको चुनावी अभियानमा चन्दा दिने व्यक्तिहरूसँगको भेलामा ट्रम्पले त्यो कुरा बताएका थिए ।

‘तिमी युक्रेनमा आक्रमण गर्न गयौ भने म मस्कोमा बमको वर्षा गराइदिन्छु,’ ट्रम्पले भनेको सुनिन्छ, ‘तिमीसँग अर्को कुनै विकल्प छैन । त्यसपछि पुटिनले ‘म तिमीलाई विश्वास गर्दिनँ’ भने । तर, उनले ममाथि १० प्रतिशत विश्वास गरेका थिए ।’

आफूले यस्तै किसिमको चेतावनी चीनका राष्ट्रपति सी चिनपिङलाई पनि दिएको ट्रम्पले दाबी गरेका छन् । ताइवानमाथि चीनले आक्रमण गरेमा अमेरिकाले बेइजिङमा बम खसाइदिने धम्की ट्रम्पले दिएका थिए ।

‘सीले मलाई बौलाहा भन्ठानेका थिए,’ ट्रम्पले भने, ‘तर, हामीबीच कुनै समस्या भएन ।’

सन् २०२४ मा चुनावी अभियान चलाउने क्रममा ट्रम्पले न्युयोर्क र फ्लोरिडामा आयोजित चन्दा उठाउने कार्यक्रममा यी अभिव्यक्तिहरू दिएका थिए । तिनलाई कसैले अडियोटेपमा सुरक्षित गरेर राखेको रहेछ ।

जोश डसी, टाइलर पेजर र आइज्याक आर्न्सडोर्फले लेखेको पुस्तक ‘२०२४’ मा यसको उल्लेख छ । उनीहरूले अडियो पाएपछि पुस्तकमा त्यसको बारेमा लेखेका थिए ।

यसअघि अडियोमा भएका कुरा सार्वजनिक गरिएका थिएनन् ।

धनी चन्दादाताहरूलाई प्रभावमा पार्नका लागि ट्रम्पले निकै चर्का कुरा गर्ने गरेका थिए भनी यस प्रकरणले स्पष्ट पारेको छ । उनले आफ्नो विदेशनीति आक्रामक हुने आश्वासन चन्दादाताहरूलाई दिएका थिए ।

जो बाइडनको साटो आफू राष्ट्रपति भइरहेको भए युक्रेन र गाजामा युद्ध हुँदैनथियो भन्ने सन्दर्भमा ट्रम्पले पुटिन र सीको प्रसंग निकालेका थिए । उनले यो दाबी अहिले पनि गर्ने गरेका छन् तर ती दुवै युद्ध रोक्न उनी असफल छन् ।

मंगलवार मात्र ट्रम्पले युक्रेन युद्ध नरोकिएकोमा निराशा व्यक्त गरे । पुटिनले शान्ति सम्झौता गर्न नचाहेको भन्दै उनले गुनासो गरेका छन् ।

मन्त्रिपरिषद्को बैठकमा उनले आफू पुटिन र रुसीहरूसँग असन्तुष्ट बनेको बताए ।