
काठमाडौं । म्याजिक ब्रान्डको चप्पल तथा जुत्ता उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्ने तीन कम्पनीले एक वर्षमा २ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन् । तीन कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब १० करोड ३० लाख रुपैयाँको व्यापार गरेका हुन् ।
नेपाली बजारमा म्याजिक चप्पल तथा जुत्ता प्रख्यात तथा पुरानो ब्रान्ड हो । सोही चप्पल तथा जुत्ता उत्पादन गर्ने जयश्री पोलिम्यार प्रालि, जयश्री पीयु टेक र जयश्री कम्पनीले सन् २०२४ मा २ अर्ब रुपैयाँ बढीको व्यापार गरेको हुन् ।
जयश्री पोलिम्यार प्रालिले ८६ करोड ४० लाख रुपैयाँ, जयश्री पीयु टेकले ७६ करोड २० लाख रुपैयाँ र जयश्री कम्पनीले ४७ करोड ७० लाख रुपैयाँको व्यापार गरेका हुन् ।
जयश्री पोलिम्यार प्रालिः जयश्री पोलिम्यार प्रालिले सन् २०२४ मा ८६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ६३ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा ५४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा ३६ प्रतिशतले बढेको पाइएको छ । कम्पनीअनुसार सन् २०२४ मा परिमाणमा बढी व्यापार हुँदा आम्दानी बढेको उल्लेख गरेको छ । त्यस्तै कम्पनीले उत्पादन गरेको चप्पल भारतमा पनि निर्यात हुँदै आएको छ । जसमा सन् २०२४ मा व्यापार गरेकोमध्ये ४२.६ प्रतिशत आम्दानी निर्यातबाट भएको जनाएको छ ।
कम्पनीले विभिन्न च्यानलमार्फत् भारतमा निर्यात गर्दै आएको छ । त्यस्तै कम्पनीले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ८५ करोड ६० लाख रुपैयाँको व्यापार गरिसकेको जनाएको छ । जसमा ५९.४७ प्रतिशत आम्दानी निर्यातबाट गरेको छ । कम्पनीले १० महिनाको अवधिमा उक्त व्यापार गर्दा ११ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ११.७४ प्रतिशत र सन् २०२३ मा ४.७५ प्रतिशत खुद नाफा कमाएको थियो ।
सन् २००३ मा स्थापना भएको कम्पनीले फुटवेयर अर्थात् चप्पल उत्पादन गरी व्यापार गर्दै आएको छ । यो कम्पनी नेपालको पहिलो इथिलिन भिनिल एसिटेट इन्जेक्सन मोडलिङ युनिट हो । कम्पनीले वार्षिक ९ लाख जोडी चप्पल उत्पादन गरी म्याजिक, म्याजिक प्लस र एक्टिभा ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ५० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १३ करोड ८६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३६ करोड १४ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीमा अनुज पोद्दर र रुवी अग्रवालको स्वामित्व रहेको छ ।
जयश्री पीयु टेकः जयश्री पीयु टेकले गत आर्थिक वर्षमा ७६ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ७७ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा ५२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
अन्य कम्पनीको व्यापार बढ्दा पीयस टेकको भने सन् २०२४ मा १.४६ प्रतिशतले व्यापार घटेको पाइएको छ । कम्पनीअनुसार आन्तरिक बजारमा मागमा कमी आउँदा व्यापारमा कमी आएको जनाएको छ । त्यस्तै कम्पनीले उत्पादन गरेको जुत्ता तथा चप्पल आन्तरिक बजारसँगै भारतमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा भने उच्च व्यापार गरेको छ । कम्पनीले चालु आवको १० महिनाको अवधिमा मात्रै १ अर्ब २ करोड रुपैयाँको व्यापार गरिसकेको छ । सो अवधिमा १ अर्बको रुपैयाँको व्यापार गर्दा ६१ प्रतिशत आम्दानी निर्यातबाट भएको उल्लेख गरेको छ ।
सन् २००९ मा स्थापना भएको कम्पनीले म्याजिक ब्रान्डको स्लिपर, चप्पल र जुत्ता उत्पादन गरी म्याजिक ब्रान्ड बिक्री गर्दै आएको छ । कम्पनीले वार्षिक ९ लाख जोडी चप्पल तथा जुत्ता उत्पादन गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि एक अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २९ करोड ८९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७० करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीमा अनुज पोद्दर र राजेशकुमार अग्रवालको स्वामित्व रहेको छ ।
जयश्री कम्पनी प्रालिः जयश्री कम्पनीले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ४२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ४७ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ५१ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा ५५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् १९८३ मा स्थापना भएको कम्पनीले स्लिपर र चप्पल उत्पादन गरी नेपाली बजारमा बिक्री गर्नुका साथै भारतमा पनि निर्यात गर्दै आएको छ । कम्पनीले वार्षिक १२ लाख जोडी चप्पल उत्पादन गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६ करोड ७२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५३ करोड २७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीमा अनुज पोद्दर र रुवी अग्रवालको पूर्ण स्वामित्व रहेको छ ।







प्रतिक्रिया