रेमिट्यान्सबाट विदेशी मुद्रा आर्जन हुँदा नीति निर्माताहरु मात्तिएः नरबहादुर थापा


काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले रेमिट्यान्सबाट सहजै विदेशी मुद्रा आर्जन हुँदा नीति निर्माताहरु मात्तिएको तर्क गरेका छन् ।

बुधबार संघीय संसद अन्तर्गतको अर्थ समितिमा भएको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषय केन्द्रीत छलफलमा थापाले यस्तो बताएका हुन् ।

‘अहिले नेपाललाई डच डिजिटको रोग लागेको छ । रेमिट्यान्स जीडीपीको करिब २७ प्रतिशत पुगेको छ । रेमिट्यान्स आजका दिनमा बनमाराको रुपमा फैलिएको छ भने ११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स आइसकेको छ,’ थापाले भने, ‘अहिले हामीले सहजै ढंगमा विदेशी मुद्रा आर्जन गरेका कारण नीति निर्माताहरु मात्तिएको अवस्था छ । यसलाई सरकारले विचार पुर्‍याउन आवश्यक छ ।’

उनले मौद्रिक नीति बनाउँदा अर्थतन्त्रको संरचना के छ ? भन्ने कुरालाई हेनुपर्ने बताए । ‘हाल ५७ प्रतिशत रोजगारी रहेको कृषिले २५ प्रतिशत मात्रै जीडीपीमा योगदान गरेको छ । अब रोजगारी र जीडीपीमा रहेको योगदानको संरचनालाई भंग गर्ने गरी काम गर्न आवश्यक छ,’ थापाले भने, ‘विगत लामो समयदेखिको यो स्थितिलाई कसरी सुधार गर्ने भन्ने विषयलाई हेर्नुपर्ने हुन्छ ।’

उनले अब उच्च आर्थिक वृद्धिदर कसरी हुनसक्छ ? भन्ने पाटोमा मौद्रिक तथा वित्त नीति अगाडि बढ्न आवश्यक रहेको औंल्याए । ‘कुल पुँजी निर्माणमा अहिले निजी क्षेत्रको अंश घटिरहेको छ । आर्थिक वर्ष २०७७/७८ मा निजी क्षेत्रको अंश ७५ प्रतिशत थियो भने अहिले ६० प्रतिशतमा खुम्चिएको छ,’ थापाले भने, ‘बाहिर ८० प्रतिशत योगदान अर्थतन्त्रमा रहेको भने पनि ६० प्रतिशत छ जसलाई बढाउनुपर्ने हुन्छ ।’