रसुवा बाढीले बगायो सीजीका दुई दर्जन बढी ईभी, क्षति मूल्यांकन गर्न इन्स्योरेन्सले पठायो सर्भेयर

1.7k
Shares

काठमाडौं । मंगलबार बिहान रसुवामा आएको बाढीले सीजी मोटर्सका करिब दुई दर्जन विद्युतीय सवारीसाधन (ईभी) बगाएको छ । नेपाल प्रहरीका अनुसार कन्टेनर डब्बा लोड गाडी २४ वटा, ६ वटा सिनो ट्रक र ३५ वटा ईभी गाडी बगाएको तथ्यांक छ ।

जसमध्ये सीजी मोटर्सका मात्रै करिब दुई दर्जन ईभी बगाएको जनाइएको छ । ‘बजेट अगाडि नेपाल भित्र्याइएका सीजी मोटर्सका करिब २५ गाडी बगाएको तथ्यांक हालसम्म देखिएको छ,’ स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘यद्यपि, यसको एकिन तथ्यांक भने अझै आउन बाँकी छ ।’

खासगरी, आगामी आर्थिक वर्षको बजटेबाट विद्युतीय सवारीसाधनको कर बढ्ने भन्दै अटो व्यवसायीले बजेट घोषणा अघि ठूलो मात्रामा ईभी नेपाल भित्र्याएका थिए । ठूलो संख्यामा भित्र्याएका कारण भन्सार जाँच पासका लागि यार्डमा नै ईभी थुप्रिएको अवस्था थियो जसलाई बाढीले बगाएको हो ।

सीजी मोटर्सको बिमा शिखर इन्स्योरेन्स कम्पनीमा रहेको छ । जसअनुसार क्षतिको मूल्यांकन गर्न कम्पनीले सर्भेयर खटाइसकेको छ । क्षतिको विवरण सार्वजनिक भएपछिमात्रै कतिको दाबी पर्छ भन्ने तथ्यांक आउने कम्पनीले जनाएको छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगाएको छ । मंगलबार तिब्बतको ल्हेन्दे नदीमा आएको बाढीले नेपाल–चीनको सीमास्थित मितेरी पुल बगाएको छ भने ईभी चार्जिङ स्टेसनमा समेत क्षति पुराएको छ ।