
काठमाडौं । चीनको तिब्बतमा उत्पत्ति भएको ल्हेन्दे नदीमा बाढी आउँदा रसुवास्थित रसुवागढी हाइड्रोपावरमा क्षति पुगेको छ । मंगलबार बिहान ल्हेन्दे नदीमा आएको बाढीले नेपाल-चीन मितेरी पुल बगाएको छ भने सुक्खा बन्दरगाहसहित केही जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युतमा क्षति पुगेको हो ।
नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरुसँग रसुवामा बाढीले गरेको क्षतिको विवरण उपलब्ध गराउन तथा दाबी भुक्तानी यथासम्भव छिटो र सहज ढंगले फछर्यौट गर्न निर्देशन दिएको छ ।
बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् कम्पनीको बिमा हिमालयन एभरेष्टमा गरिएको पाइएको छ ।
मंगलबार बिहान लेदोसहित आएको बाढीले आयोजनाको हेडवर्कसको गेट बगाएको थियो । स्रोतका अनुसार उक्त योजनाको बिमा हिमालयन एभरेष्ट कम्पनीमा रहेको छ ।
‘आयोजनाको कुल सम्पत्ति बराबरको बिमा भएको छ । तर, बाढीले आयोजनाको हेडवर्कस मात्रै बगाएको हुनाले ठूलो रकमको दाबी पर्ने सम्भावना देखिँदैन,’ स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘हालसम्म रसुवा हाइड्रोपावरले बिमा कम्पनीसँग के–कति क्षति भयो भन्ने जानकारी गराएको छ ।’
बिमा कम्पनीले बिहान क्षति पुगेको जानकारी पाउनसाथ आयोजनासँग विवरण सोधपुछ गरेको थियो । यद्यपि, एकिन विवरण भने हालसम्म आउन नसकेको बताइएको छ ।
क्लिकमान्डुसँगको कुराकानीमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले हेडवर्कसको मात्रै क्षति पुगेको र अन्य क्षति नपुगेको जानकारी दिए ।
बाढीले रसुवागढी आयोजनामा क्षति पुग्दा त्यहाँबाट उत्पादन हुने सम्पूर्ण १११ मेगावाट विद्युत् अहिले पूर्णरूपमा बन्द भएको छ। यद्यपि पावरहाउस भने सुरक्षित रहेको शाक्यले क्लिकमान्डुलाई जानकारी दिए ।







प्रतिक्रिया