इरानमाथि फेरि आक्रमण गर्नका लागि ट्रम्पले अनुमति दिने इजरायलको आशा

413
Shares

एजेन्सी । इरानले आणविक कार्यक्रमलाई पुनः ब्युँताउन खोजेमा सैन्य कारवाहीका लागि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अनुमति दिने आशा इजरायलीहरूले गरेका छन् ।

एक्सियोस सञ्चारमाध्यमले स्रोतहरूलाई उद्धृत गर्दै दिएको खबरअनुसार, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकामा ट्रम्पसँग भेट्दा यस विषयमा कुरा उठाएका छन् ।

नेतान्याहुले इरानसँग अमेरिकाले भविष्यमा गर्ने आणविक सम्झौताका विषयमा थप कुरा बुझ्न खोजका छन् । इरानमाथि थप सैन्य आक्रमणका लागि परिस्थिति निर्माण हुन सक्ने विषयमा पनि चर्चा भएको छ ।

इरानले फोर्दो, नतान्ज र इसफाहानबाट उच्च संवर्धित युरेनियम हटाउने कोसिस गरेमा इजरायलले इरानमाथि आक्रमण गर्न सक्ने नेतान्याहुका सल्लाहकार रोन डर्मरले अमेरिकी अधिकारीहरूलाई बताएका छन् ।

इरानीहरूले आणविक कार्यक्रम पुनः आरम्भ गरेमा पनि आक्रमण गर्न सकिनेछ ।

इरानले युरेनियम संवर्धनको काम थालेमा अमेरिकाले पनि आक्रमण गर्न सक्ने ट्रम्पले बताएका छन् ।

तर, थप द्वन्द्व नचर्कियोस् भनी सम्झौता गर्नमा ट्रम्पको जोड छ ।

इरानसँग ६० प्रतिशत संवर्धित युरेनियम ४०० किलोग्राम रहेको बताइन्छ । हतियार बनाउनका लागि युरेनियम ९० प्रतिशत संवर्धन गर्नुपर्ने हुन्छ ।

इजरायली र अमेरिकी अधिकारीहरूले उक्त युरेनियम तीनवटा आणविक केन्द्रहरूमा लुकाएर राखिएको विश्वास गरेका छन् । ती केन्द्रहरूमा उल्लेख्य क्षति पुगेको अमेरिकाको मूल्यांकन छ । तर, सबै आणविक सामग्री वा पूर्वाधार नष्ट नभएको उनीहरूको विश्वास छ ।

टकर कार्लसनसँगको अन्तर्वार्तामा इरानका राष्ट्रपति मसुद पेजेशकियानले आणविक केन्द्रहरूमा गम्भीर क्षति पुगेको तर तिनको अवस्थाको सही मूल्यांकनका लागि पहुँच नपाएको बताएका थिए ।