मङ्गलबार पनि घट्यो नेप्से, बुटवल पावरका लगानीकर्ताले सर्वाधिक कमाए

91
Shares

काठमाडौं । सेयर बजारमा मंगलबार पनि गिरावट आएको छ । अघिल्लो साता लगातार बढेको सेयर बजार सोमबाट भने ओरालो लागेकामा निरन्तर दोस्रो दिन सामान्य अंकले घटेको हो ।

मंगलबार सेयर बजार परिसुचक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ०.१४ अंकले घटेर २६८३.८६ अंकमा कायम भएको छ । यस्तै ६ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । सो क्रममा ५६ हजार कारोबारमार्फत् १ करोड ५० लाख २७ हजार कित्ता सेयर किनबेच भए ।

कारोबारमा आएका ३०४ स्क्रिप्टमध्ये १३३ कम्पनीको सेयर मुल्य बढेको छ भने ११५ कम्पनीको भाउ घटेको छ ।

अघिल्लो साताको पाँचै दिन र यो साताको आइतबारसम्म नेप्से बढेको थियो । अघिल्लो कारोबार दिन अर्थात् सोमबार नेप्सेमा २२.३५ अंकको गिरावट आउँदा ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्से घट्दा समूहगत उपसूचकतर्फ ९ समुहको उपसूच बढेको छ । विकास बैंक, वित्त, जलविद्युत, लगानी, उत्पादनमुलक, लघुवित्त र कारोबार समूहको उपसूचक बढ्दा बैंकिङ, जीवन बिमा, होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बिमा र अन्य समूहको उपसूचमा गिरावट आएको छ ।

सेयर मूल्य बढेका १३३ कम्पनीमध्ये सबैभन्दा धेरै बुटवल पावर कम्पनीका सेयरधनीले कमाए । कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशत बढ्दा पिपुल्स हाइड्रो, रिभर फल्स पावर, ग्रिन डेभलपमेन्ट बैंक र सयपत्री हाइड्रो सर्वाधिक मूल्य बढ्ने कम्पनीको सूचीमा अग्रस्थानमा रहे । यसैगरी मंगलबार बिहान बाढीले क्षति पुगेको सुवागढीको सेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीका सेयरधनीले ५.०८ प्रतिशत गुमाए ।

बजार झिनो अंकले घट्दा कुल बजार पुँजीकरण ४४ खर्ब ७१ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ । यसदिन लगानीकर्ताको कुल सम्पत्ति २४ करोड रुपैयाँले घटेको हो ।