शारडा र राठी ग्रुपको तेल उद्यागले ९ महिनामा गर्‍यो साढे ६ अर्बको व्यापार

189
Shares

काठमाडौं । पशुपति खाद्य तेल उद्योगले चालु आर्थिक वर्षको ९ महिनामा साढे ६ अर्ब रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ६ अर्ब ४४ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा २ अर्ब ७ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा ३ अर्ब ६६ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा ७ अर्ब ७८ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा ४ अर्ब ६२ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले कच्चा तेल प्रशोधन गरी नेपाली बजारसँगै भारतमा पनि निर्यात गर्दै आएको छ । कम्पनीले कच्चा सोयाबिन, सनफ्लावर, पाम आयल प्रशोधन गरी तेल बजारमा बिक्री वितरणमा संलग्न छ । साथै कम्पनीले वनस्पति घ्यू पनि उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त उत्पादित वस्तु पोस्टम्यान, हनुमान, हेल्लो र पशुपति ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीमा सबैभन्दा बढी स्वामित्व नन्दकिशोर राठीको रहेको छ । उनको १३ प्रतिशत स्वामित्व छ । त्यससँगै कम्पनीमा १९ जनाको स्वामित्व रहेको कम्पनीले उल्लेख गरेको छ । कम्पनीमा शारदा, राठी र वैद परिवारको स्वामित्व छ ।

श्रीनिवास शारदा अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ अर्ब रुपैयाँको रेटिङ गराएको छ । चार दशकदेखि व्यापार गर्दै आएको कम्पनीले चालु आवको ९ महिनाको अवधिमा व्यापार गरेकोमध्ये ७७ प्रतिशत आम्दानी निर्यातबाट गरेको उल्लेख गरेको छ ।

कम्पनीले तेलका लागि आवश्यक कच्चा पदार्थ भने अर्जेन्टिना, युक्रेन, रुस, ब्राजिलबाट आयात गर्ने गरेको छ ।