कतार पुगेर कुलमानले भनेः देशभित्र आशा र आत्मविश्वास लगाउनेलाई सम्मान भएन

168
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले कतार पुगेर देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान नगरिएको बताएका छन् । कुलमान घिसिङ पछिल्ला केही दिन यता खाडी मुलुकमा रहेका नेपालीहरुसँग भेटघाट गरिरहेका छन् । मध्यपूर्र्वी देशहरु बहराइन, ओमान, युएई र कतारको भ्रमणमा रहेका कुलमानले कतार पुगेर नेपालमा आशा र आत्मविश्वास देखाउनेको सम्मान गर्ने वातावरण नबनाएसम्म युवा देशभित्र बस्न नसक्ने अवस्था रहेको बताएका हुन् ।

कतारको दोहामा रहेका नेपाली समुदायले गरेको सम्मान कार्यक्रममा घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर आर्जन गरेको (रेमिट्यान्स)बाट नेपालको अर्थतन्त्र धानिएको तर श्रम गर्ने नेपालीलाई भने राज्यले सम्मान गर्न नसकेको उल्लेख गरेका छन् । उनले देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वासका साथ ‘उज्यालो अभियान’ घोषणा गरिएको समेत बताएका छन् ।

‘उज्यालो अभियान बत्तिको मात्र हैन, सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान हो, यसको कार्यान्वयनका लागि नेतृत्व परिवर्तन आवश्यक छ,’ घिसिङ भन्छन् ।