
काठमाडौं । मालसामान लोड गर्न कन्टेनरसहित तिब्बतको केरुङ्ग पुगेका ३५ जना नेपाली ट्रक कन्टेनर चालक उतै फसेका छन् ।
नेपाल–चीनबीच भएको मितेरी पुल बाढीको भेलले वगाउँदा उनीहरु कन्टेनरसहित केरुङ्गमा फसेका हुन् । ति चालकमध्ये अधिकाँश सिन्धुपाल्चोकका रहेको बताइएको छ । केही मात्रै रसुवा जिल्लाका हुन् ।
हिमालय सीमापार बाणिज्य संघका सदस्य जितेन्द्र दाहालका अनुसार उनीहरुलाई चीनको तिब्बतस्थित स्थानीय प्रशासनले उद्धार गरेर केरुङ्गकै सुरक्षित स्थानमा राखेको छ । केरुङ्गमा फसेका नेपाली चालकहरुले उद्धारको लागि नेपाल सरकारसँग याचना गरेको दाहालले जानकारी दिए ।
‘सामान लोड गर्न गएका ३५ जना नेपाली चालक कन्टेनरसहित केरुङ्गमै फसेका छन्,’ क्लिकमाण्डुसँग दाहालले भने,‘उनीहरुलाई उद्धार गरेर नेपालतर्फ फर्काउने अहिलेसम्म कुनै उपाय लागेको छैन । मितेरी पुल बाढीको भेलले बगाएपछि सीमा क्षेत्रमा वारपार गर्ने कुनै बैकल्पिक मार्ग नभएर उनीहरु उतै रोकिएका छन् ।’
उनका अनुसार अहिले चीनस्थित सिजाङ्ग जनसरकारको अधिकारीहरु बैठक बसेका छन् । चिनियाँ अधिकारीहरु बाढीमा फसेकालाई कसरी उद्दार गरी एक अर्का मुलुकमा पठाउने र क्षतिग्रस्त भएको तिब्बततर्फको भौतिक पूर्वाधारको बारेमा विवरण संकलन र पुनर्निमार्णको बिषय छलफल गरिरहेको दाहालले जानकारी दिए ।
उनका अनुसार स्याउ र रसुवास्थित हाइड्रोपाबरको उपकरण बोकेको ९ वटा ठूला कन्टेनर अझै बाढीको कारण डुवानमा परेका छन् ।








प्रतिक्रिया